वासिङ्टन, वैशाख २५ गते । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य कारबाही गर्ने तयारीमा नरहेको अमेरिकी अधिकारीहरूले बताएका छन् । यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई लक्षित गर्दै बारम्बार कडा चेतावनी दिइरहेका छन् ।
अमेरिकी अधिकारीहरूका अनुसार, क्युवा सरकारसँग प्रारम्भिक चरणको कूटनीतिक छलफल जारी छ । तर तत्काल सैन्य विकल्प सक्रिय रूपमा अघि बढाइएको छैन ।
राष्ट्रपति ट्रम्पले हालै ‘क्युबा अर्को लक्ष्य हुन सक्छ’ भन्ने टिप्पणी गर्दै, मध्यपूर्वमा तैनाथ अमेरिकी नौसैनिक जहाजहरू आवश्यक परे क्युबाबाट फर्किन सक्ने सङ्केत पनि दिनुभएको थियो ।
यसैबीच, अमेरिकी पक्षले क्युबा सरकारलाई मानवीय सहायता स्वरूप लाखौँ डलरको सहयोग, सबै नागरिकका लागि दुई वर्षसम्म निःशुल्क इन्टरनेट सेवा ९स्टारलिङ्क०, कृषि सहयोग तथा पूर्वाधार विकास सहायता जस्ता प्रस्तावहरू दिएको बताइएको छ । तर यी प्रस्तावहरू कडा सर्तहरूसहित भएकाले क्युबा सरकारले स्वीकार गर्ने सम्भावना कमजोर रहेको अधिकारीहरूको आकलन छ ।
अमेरिकी अधिकारीहरूले क्युबाले अहिलेसम्म प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार नगरेको तर धेरै सर्तहरूप्रति लामो समयदेखि असहमति जनाउँदै आएको बताएका छन् ।
यसैबीच, अमेरिकी ट्रेजरी र विदेश मन्त्रालयले क्युबामाथि नयाँ प्रतिबन्ध घोषणा गरेका छन् । विशेषगरी क्युबाली सेनाद्वारा सञ्चालित एक ठूलो व्यापारिक समूहमाथि कडा आर्थिक प्रतिबन्ध लगाइएको छ ।
अमेरिकी अधिकारीहरूले कूटनीतिक ढोका अझै खुला रहेको बताए पनि राष्ट्रपति ट्रम्पले आफ्नो निर्णय परिवर्तन गर्न सक्ने र सैन्य विकल्पहरू पूर्ण रूपमा नहटाइएको स्पष्ट गरेका छन् ।
यस घटनाक्रमले अमेरिका–क्युबा सम्बन्ध पुनः तनावपूर्ण बन्न सक्ने संकेत देखिएको छ भने अन्तर्राष्ट्रिय समुदायले परिस्थितिलाई नजिकबाट नियालिरहेको छ ।





