काठमाडौँ, वैशाख २४ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगारबाट हुने ठगी नियन्त्रण गर्न डिजिटलाइजेसन प्रक्रिया सुरु गरेको बताउनुभएको छ । यसैअन्तर्गत आफू मन्त्री भएयता २५ दिनभित्रमा वैदेशिक रोजगार विभागमा परेका ४० हजार मुद्दामध्ये, १३ हजार मुद्दालाई डिजिटलाइजेसन गर्ने तयारी गरेको उहाँले बताउनुभयो । जसमध्ये, आठ हजार मुद्दा डिजिटलाइजेसन भइसकेको मन्त्री यादवले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा मन्त्री यादवले उक्त जानकारी दिनुभएको हो । उहाँका अनुसार १३ हजार मुद्दा कारबाही प्रक्रियामा छ । यसैका लागि मन्त्रालयले १० जना अनुसन्धान अधिकृतको माग गरेको छ ।  “आठ हजार मुद्दा डिजिटलाइज गरिसकेका छाँै”, उहाँले भन्नुभयो, “अरु हुँदैछ । सत्ताइस हजार मुद्दामध्ये, केही मुद्दा जेनजी आन्दोलनमा जलेको अवस्थामा छन् ।”

मन्त्री यादवले विमानस्थलको आगमन र प्रस्थान विन्दुमा आएकामध्ये, ४३४ जनालाई वैदेशिक रोजगार जाँदा भोग्नुपरेका समस्या विषयमा १७ वटा प्रश्न सोधेर वस्तुस्थितिका जानकारी लिने कार्य  पनि मन्त्रालयले गरिसकेको बताउनुभयो । जसमध्ये, धेरैले उत्तर दिन चाहेको र उत्तर दिएकामध्ये, ३८ प्रतिशत व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएको भेटिएको उहाँको भनाइ छ । 

उहाँले अब मन्त्रालयले सबै स्थानीय तहमै श्रम स्वीकृति दिने व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । आगामी साताभित्रै यो व्यवस्था लागू हुने उहाँको भनाइ थियो ।

त्यस्तै, वैदेशिक रोजगारसँग सम्बन्धित समस्या हेल्लो सरकारबाट र ह्वाट्सयापबाट आएको गुनासोका आधारमा मन्त्रालयले २५ दिनभित्र १७८ जनालाई उद्धार गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पच्चीस दिनमा नौ जना ठगी गर्नेलाई कारबाही गरेका छौँ, वैदेशिक रोजगारमा ठगी गर्नेको ‘कनेक्सन’ नै भेटाउन चुनौती छ ।”

बैठकमा समितिका सभापति रहबर अन्सारीले वैदेशिक रोजगारको समस्या आजको भोलि नै शून्य गराउन सकिने अवस्था नरहेको बताउदै यसको सुधार गर्न कानुनी सुधारमा जोड दिनुभयो । 

बैठकमा सांसदहरु बुद्धिप्रसाद पन्त, प्रकाशसिंह कार्की, प्रकाश पाठक, रन्जु दर्शना, टेकबहादुर शाक्य, प्रभा कार्की लगायतले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने, स्वदेशमै श्रमिकलाई सम्मानपूर्वक काम गर्ने वातावरण सिर्जना गर्ने, श्रमिक र उद्यमीबीचको सन्तुलन बनाउन नीतिगत योजना ल्याउनेलगायत विषयमा आफ्ना सुझाव राख्नुभएको थियो ।