विराटनगर, वैशाख २४ गते । कोशी प्रदेश सरकारले पत्रकारिताका माध्यमबाट सूचना सम्प्रेषणमा योगदान पुर्याउने आठ जना पत्रकारलाई आज पुरस्कारसहित सम्मान गरेको छ । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा प्रदेश सरकारले राष्ट्रिय समाचार समितिका पूर्वमहाप्रबन्धक सिद्धराज राईसहित आठ जना पत्रकारलाई आज एक समारोहबीच पुरस्कार प्रदान गरेको हो ।
प्रदेशस्तरीय पत्रकारिता पुरस्कारको राशि जनही रु एक लाख रहेको कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयबाट प्रदान गरिने सो पुरस्कारबाट राईसहित शेखर रेग्मी, गोपाल दाहाल, विवेक गौतम, मनोज श्रेष्ठ, रेजिना गौतम, सन्तोष रुचाल र श्यामसुन्दर सुतिहार सम्मनित हुनुभएको हो ।
मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवसको अवसर परेर विसं २०७५ देखि सो पुरस्कार प्रदान गर्दै आएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कृत सबैलाई पुरस्कार र सम्मान प्रदान गर्दै सञ्चार क्षेत्रले समाजलाई एक ढिक्कामा राख्न सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउन प्रभावकारी रूपमा नियमन गर्नुपर्ने बताउँदै प्रदेश सरकारले आउने बजेटमा नीतिगत व्यवस्था गरी विज्ञानपन र सूचना दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले प्रतिशोधको भावनाले लोकतन्त्रलाई कमजोर बनाउने विचार राख्दै कोशी प्रदेशमा पारित आमसञ्चार विधेयकले पत्रकारिता क्षेत्रलाई सुदृढ एवं व्यवस्थित गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदेशका महिला उद्यमीबाट सञ्चालित साना तथा मझौला उद्योगलाई प्रोत्साहित गरिने उल्लेख गर्नुभयो । उद्योगबाट उत्पादित कपडा खरिद गर्ने राष्ट्रसेवक कर्मचारीलाई वार्षिक पाउने पोसाक भत्तामा प्रदेश सरकारले रु पाँच हजार ५०० थप गरिदिने जानकारी दिनुभयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जनताको अधिकार र प्रणाली स्थापित गराउन सञ्चार क्षेत्रको भूमिका अग्रणी रहेको चर्चा गर्दै पत्रकारितालाई नेतृत्व दिन आमसञ्चार विधेयकले एक संस्थाको जन्म दिएको छ भन्नुुभयो । उहाँले समाजमा रहेका विकृति र विसङ्गतिलाई हटाउन तथा सरकार र सरोकार भएका निकायलाई आवश्यकताअनुसार खबरदारी गर्ने भूमिकालाई प्रभावकारी बनाउनुपर्ने धारणा राख्दै पुरस्कृत पत्रकारलाई बधाई तथा शुभकामना दिनुभयो ।
सो अवसरका आन्तरिक मामिला तथा कानुन सचिव आस्न तामाङ, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सुशीला पाठक र पुरस्कृत पत्रकार रोजिना गौतमले आ(आफ्नो धारणा राख्नुभएको थियो ।





