फाइल तस्वीर
काठमाडौँ, वैशाख २२ गते । जिल्ला अदालत काठमाडौँले उद्योगी शेखर गोल्छालाई रिहा गर्न आदेश गरेको छ । नेपाल उद्योग वाणिज्य महासङघका पूर्वअध्यक्ष गोल्छालाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउँदा न्यायाधीश मोना सिंहको इजलासले रिहा गर्न आदेश गरेको हो ।

न्यायाधीश सिंहको इजलासले ‘प्रतिवादी शेखर गोल्छालाई हिरासतमै राखी मुद्दाको अनुसन्धान गर्नुपर्ने सम्मको अवस्थाको विद्यमानता रहेको नदेखिएकोले मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा १४(३) बमोजिम प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न मिलेन’, भनि आदेशमा जनाइएको छ ।

हिजो सोमबार सर्वोच्च अदालतले गोल्छालाई छाड्न आदेश गरेको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले बन्दी प्रत्यक्षीकरणको रिट माथि सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएको र गोल्छालाई पुनःबीमा सम्बन्धी कसुरमा पक्राउ गरिएको थियो । हिजो पुनः पक्राउ गरिएका गोल्छालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लगिंदा जिल्ला अदालतले म्याद थप्न अस्वीकार गर्दै रिहा गर्न आदेश दिएको छ ।