काठमाडौँ, वैशाख २२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति सचिवालयका अनुसार सरकारले हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न पुनः सिफारिस गरेपछि राष्ट्रपति पौडेलले उक्त अध्यादेश आज मङ्गलबार जारी गर्नुभएको हो ।
यसअघि सरकारबाट सिफारिस भएका आठ अध्यादेशहरुमध्ये ७ वटा जारी गरिसक्नुभएका राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि भन्दै फिर्ता पठाउनुभएको थियो ।
सोही अध्यादेश हिजो सोमबारको मन्त्रिपरिषद बैठकले जस्ताको तस्तै जारी गर्न राष्ट्रपति समक्ष पुनः सिफारिस गरेपछि सो अध्यादेश राष्ट्रपति पौडेलले आज जारी गर्नुभएको हो ।
अध्यादेशमा संवैधानिक परिषद्को बैठकमा ४ जना सदस्य उपस्थित भए पुग्ने र उपस्थित सदस्यको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था गरिएको छ ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकारको सिफारिसमा अध्यादेश जारी गरिएको हो ।
यसअघि ७ वटा अध्यादेश जारी गरिसक्नुभएका राष्ट्रपति पौडेलबाट संवैधानिक परिषद् सम्बन्धी अध्यादेश मात्रै रोकिएको थियो। सोही संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश पनि आज जारी भएको छ ।






