काठमाडौँ, वैशाख १७ गते । अखिल नेपाल सुकुमबासी सङ्घले सरकारले विना योजना काठमाडौँलगायत देशका विभिन्न स्थानका सुकुम्बासी बस्ती हटाएपछि आम हडताल गर्ने भएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट भातृ सङ्गठनले सरकारले सुकुमबासी बस्तीमा डोजर चलाएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
आज बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सङ्घले विभिन्न सुकुमबासी बस्तीहरूमा डोजर लगाएर राज्य आतङ्क फैलाइएको भन्दै विना विकल्प उठिबास लगाउने कार्य बन्द गर्नुपर्ने मागसहित दुई चरणमा आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
सङ्घका अध्यक्ष अमर परियारका अनुसार पहिलो चरणमा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई गरेका वाचा स्मरण गर्न र जबरजस्ती उठीबास रोक्नका लागि सरोकारवाला सबैलाई आग्रह गरिने र नेताहरूको ध्यानाकर्षण गराउने रहेकोे छ ।
यसैगरी, सङ्घले आन्दोलनको दोस्रो चरणमा जिल्ला, पालिका र बस्तीमा विरोध सभा र भेला गरी मेची–महाकाली राजमार्ग चक्काजाम गर्ने, जनताको हितमा काम नगर्ने प्रधानमन्त्रीलाई फिर्ता बोलाउन देशव्यापी हस्ताक्षर सङ्कलन अभियान सुरु गर्ने र शान्तिपूर्ण आन्दोलनबाट आफूहरूको माग सुनुवाइ नभए देशव्यापी अनिश्चितकालीन आम हडताल गर्ने चेतावनी दिएको छ ।






