काठमाडौँ, वैशाख १७ गते । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइराला समूहले आज राखेको भेलाले विशेष महाधिवेशनकै कारण पार्टी एकता कमजोर भएको निष्कर्ष निकालेको छ । आज बिहीबार बिहान बालुवाटारस्थित ओपेरा होटलमा बसेको बागमती प्रदेशस्तरीय छलफलमा धेरैजसो नेताहरूले विशेष महाधिवेशनकै कारण पार्टी एकता कमजोर भएको निचोड निकालेको हो ।
नेता कोइरालाले पार्टी र देशका राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा तय गर्नका लागि राय सल्लाह लिन ओपेरा होटलमा बागमती प्रदेश स्तरीय छलफल बोलाउनुभएको थियो । उक्त छलफलमा बोल्नेहरूमध्ये अधिकांशले पार्टीभित्र विवादको स्थिति रहेको र एकता कायम हुन नसकेकोमा चिन्ता व्यक्त गरेका थिए ।
पार्टीभित्र सिर्जित पछिल्लो विवादको कारण विशेष महाधिवेशन नै रहेकामा धेरैजसो नेता एकमत रहेका थिए । आजको बैठकमा अहिलेको अवस्थामा पार्टी एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी सभापति गगन थापाको रहेको पनि नेताहरूले समीक्षा गरेका छन् ।





