गण्डकी, वैशाख १५ गते । नेपालको पर्यटकीय राजधानी पोखराको मुटुमा बग्ने सेती नदीमाथि अवस्थित प्राकृतिक पुल जोखिममा परेको छ । स्थानीय जीवनशैली, संस्कार र पहिचान बोकेको पोखरा महानगरपालिका–१७ महतगौडा र वडा नं १५ को टुटुङ्गालाई जोड्ने हजारौँ वर्षको प्राकृतिक सम्पदा संरक्षणको अभावमा उच्च जोखिममा परेको हो ।

समुन्द्र सतहबाट ८०० मिटरको उचाइमा अवस्थित पोखरा उपत्यकाको उत्पत्तिसँगै प्राकृतिक रुपमा निर्मित सो पुल सवारीसाधनको आवतजावत, मानव गतिविधिको बढ्दो चाप र प्राकृतिक क्षयले क्रमशः कमजोर हुँदै जानु तथा सम्बन्धित निकायबाट संरक्षण र व्यवस्थापन अभावको कारण अस्तित्व सङ्कटमा पर्दै गएको भूगोलविद् प्राडा कृष्ण केसी बताउनुहुन्छ ।

उहाँका अनुसार सेती नदीको तीव्र बहावमाथि प्राकृतिक रुपमा बनेको यो पुल कुनै आधुनिक इन्जिनियरिङको नमूना होइन, बरु प्रकृतिको आप्mनै सिर्जनात्मक शक्ति हो । समयक्रममा ढुङ्गा, माटो र पानीको सहकार्यले तयार पारेको यो संरचना स्थानीयका लागि दैनिक आवतजावतको माध्यम मात्र नभई राष्ट्रका लागि एउटा जीवित इतिहास पनि हो ।

नदीको दुवैतर्पmबाट फाँटेका ठूल्ठूला धाँजा एकापसमा जोडिएपछि सेती नदीमा बाँध बनेपछि थुनिएको सेतीको पानीले तल्लो भागलाई काटेर निकास बनाएपछि माथिल्लो भागले पुलको आकार लिएको अनुमान गर्न सकिने भूगोलविद् केसीको भनाइ छ । एक सय मिटरको गहिराइ र ९० मिटरको चौडाइमा रहेको सो प्राकृतिक पुल पिरामिड आकारको रहेको छ ।

अन्नपूर्ण र माछापुच्छे« हिमशृङ्खलाको आसपासमा रहेका हिमताल फुट्दा भिषण बाढीसँगै आएको माटो, बालुवा, गेग्रयान, चट्टान र वनपैदावारका कारण पोखरा उपत्यकाको उत्पत्तिको आधार भएको बताउँदै उहाँले भन्नुभयो, “विश्वसामु परिचित पोखराको मुख्य भागमा रहेको पुरातात्विक महत्व बोकेको अनौठो प्राकृतिक वरदान पर्यटकीय प्रवाहमा जोडिन नसक्नु विडम्बना हो । पोखराको रामघाटबाट भूमिगत भएको सेती नदी सो स्थान मितेरी पुलकोमा आएर खुल्ला भएको छ, जसमा प्राकृतिक पुलको तल्लो भागको दोविल्लालगायतका क्षेत्रबाट जथाभावी नदीजन्य वस्तु उत्खनन् गर्दा नदी गहिरिँदै गएको कारण पनि यस्ता प्राकृतिक सम्पदा एवं आसपासको बस्तीसमेत उच्च जोखिममा पर्दै गएको छ ।

नदीको पूर्वपट्टि रहेको सानो वनमा कहिलेकाहीँ घण्टी र शङ्खको ध्वनि सुनिने गर्दा यो महत्वपूर्ण धार्मिक क्षेत्र रहेको स्थानीय ९७ वर्षीय चन्द्रकान्त भण्डारीले बताउनुभयो । सो स्थानमा तीन दशकअघि मात्र शिवमन्दिर निर्माण गरी मूर्तिसेमत प्रतिस्थापन गरिएको छ । देवताको वासस्थान र ऋषिमुनीको तपोभूमि एवं धार्मिक शक्तिको कारण पुल अटल रहेको उहाँको विश्वास छ ।

उहाँका अनुसार सेती नदीको माथिल्लो भागमा पुल त बन्यो तर दुवै किनारामा फाटेका धाँजाबाट आवतजावत गर्न जोखिम बढेपछि फुस्रेखोलाबाट सामूहिक रुपमा काठ र डोरीको सहायताले बोकेर ल्याएका लामालामा ढुङ्गाका छपनी राखेपछि आवतजावतमा सुविधा पुगेको हो । धार्मिक महत्व र सेती नदीको पहिलो पुलको भएको कारण सो क्षेत्रमा पराप्ूर्वकालदेखि माघे सङ्क्रान्तिका दिन ढुङ्गेसाँघु मेलासमेत लाग्दै आएको छ ।

ज्येष्ठ नागरिक भण्डारीले भन्नुभयो, “हामीले बाल्यकालमा यही पुलमा खेलेका थियौँ, छोराछोरी यही बाटो हिँडेर विद्यालय जान्थे । पोखरा महानगरपालिका–१५ बासिन्दा बिरुवा फाँटमा कृषि गर्नका लागि आवतजावतमा सहयोग पुगेको यो पुल हाम्रो इतिहास हो तर नयाँ पुस्ता र बाह्य पर्यटकलाई यसको कथा सुनाउने प्रयास भने कहीँकतैबाट भएको छैन ।

पछिल्लो समय धाँजा फाटेको दुवै स्थानमा स्काभेटर प्रयोग गरेर माटोले पुरेपछि उक्त पुलबाट साना तथा ठूलो यातायातका साधन निर्वाधरुपमा ओहोरदोहोर गरिहँदा पुलको संरक्षणका लागि आजसम्म कुनै पनि प्रयास नहुँदा जोखिम बढेको छ । टुटुङ्गाको दुलेगांैडाबाट मानिस तथा पशुहरु ओहोरदोहोर गर्ने गरे पनि पछिल्लो समय डोजरको सहायताले मोटर बाटो खोलेसँगै पुलमा दबाब सिर्जना भएको हो ।

पुलको भारवहन क्षमता मापन गरी यातायातका साधन निषेध नगर्ने हो भने पुल कुनै पनि बेला झर्न गएमा जनधनको ठूलो क्षति हुने सम्भावना छ । एउटा प्राकृतिक वरदानको अन्त्य हुँदा ‘नरहे बाँस, नबझे वासुरी’ भन्ने युक्ति चरितार्थ हुनसक्ने खतरा बढेको स्थानीय बासिन्दा एवं जनप्रतिनिधि शिवराम भण्डारी बताउनुहुन्छ ।

यस क्षेत्र आसपासमा तीनै तहका सरकारको सहयोगमा आवश्यक भौतिक संरचना निर्माणसँगै सौन्दर्य अभिवृद्धि गर्न जोड दिँदै आएको भए पनि पुलको तल्लो भागसम्म पुगेर भू–बनोटको अवलोकन गर्न आवश्यक बाटो निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै ढुङ्गेसाँघु पर्यटन प्रवद्र्धन समितिका सल्लाहकार समेत रहनु भएका भण्डारीले भन्नुभयो, यस क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गरिनु अपरिहार्य छ ।

समाजका विपन्न र असहाय बालबालिकाको अध्ययनको थलो जानकी माध्यमिक विद्यालय, यस क्षेत्रमा रहेका अन्य शैक्षिक संस्था तथा विभिन्न सङ्घसंस्थाको आम्दानीको स्रोत बनाउनुपर्नेमा उहाँको जोड थियो । पोखरा महानगरपालिका–१७ मा सञ्चालित छोरेपाटन माविलाई पातले छाँगो ९डेभिडफल० को आम्दानीबाट महानगरले वार्षिक रु तीन करोड एक लाख सहयोग गर्दै आएको छ भने विन्ध्यवासिनी माविले पनि महेन्द्र गुफा र चमेरे गुफाको आम्दानीबाट विद्यालयको पठनपाठनमा लगानी गर्दै आएको छ ।

प्राकृतिक स्रोत सबैका साझा सम्पत्तिका रुपमा उपयोग गर्नसके सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न सहयोग पुग्ने जानकी माविका प्रधानाध्यापक अर्जुन कँडेल बताउनुहुन्छ । प्रकृतिप्रदत्त उपहारको आवश्यक प्रचारप्रसार गर्दै आन्तरिक एवं बाह्य पर्यटकको आकर्षणको केन्द्रका रुपमा विकास गर्नसके पोखरामा एउटा छुट्टै पर्यटकीय गन्तव्य थपिनुको साथै यस क्षेत्रको विकास र रोजगारीमा समेत टेवा पुग्ने उहाँको विश्वास छ ।

सो पुलको तल्लो भागमा पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा झोलुङ्गे पुलसमेत निर्माण गरिएको छ । पुलबाट प्राकृतिक पुलको भूवनोटको दृश्यावलोकनमा केही हदसम्म भए पनि सहयोग पुगेको छ । पुलसँगै जोडिएको परोपकार महासङ्घ नेपालद्वारा गुरुकूल कक्षा सञ्चालन गरिएको छ भने सोही स्थानबाट पुलको दृश्यावलोकनका लागि केही संरचनासमेत बने पनि ती प्रभावकारी बन्न सकेको छैनन् ।

यस क्षेत्रमा प्राकृतिक पुलसहित सीताघाट, पिपलको वृक्ष रहेको चौतारामा सीताको पाइला, ऐतिहासिक एवं धार्मिक महत्व रहेको सदाशिव सिद्धेश्वर हरिहर मन्दिर, अकलादेवी मन्दिर, रामसीता मन्दिर, पोखरा वृद्धाश्रम, परोपकार महासङ्घ, बञ्जी जम्प, अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयलगायतका विभिन्न धार्मिक तथा पर्यटकीयस्थल अवस्थित छन् ।

ढुङ्गेसाँघु ९स्ट्रोन बृज० लाई विश्व सम्पदा सूचीमा सूचीकृतसहित सूचना पाटी, मार्गदर्शक बोर्ड, डिजिटल प्रचार र स्थानीय पर्यटन प्याकेजमा समावेश गर्न सकिए पर्यटकका लागि नयाँ आकर्षक गन्तव्य बन्नसक्ने प्रचुर सम्भावना रहेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने बताउनुहुन्छ ।

पर्यटनसँग सम्बद्ध विभिन्न सङ्घसंस्था, भूगर्वविद्, सञ्चारकर्मी, सुरक्षा निकाय र स्थानीयको सहभागितामा एक बृहत् कार्यक्रम गरेर प्रचारप्रसारमा जोड दिनुपर्नेमा उहाँको जोड थियो ।

पोखरा विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो । यहाँको ताल, हिमाल, हरियाली र प्राकृतिक दृश्यले लाखौँ पर्यटकलाई आकर्षित गर्छन् तर सेती नदीमाथिको प्राकृतिक पुल अभैm पनि पर्यटकको नजरमा पर्न सकेको छैन । पर्यटन प्रवद्र्धनसँगै स्थानीय अर्थतन्त्रलाई टेवा पु¥याउने र रोजगारी सिर्जना गर्ने क्षमता यसमा निहित छ । प्राकृतिक पुलको संरक्षण अहिलेको पहिलो चुनौती हो ।

पुलबाट अहिले पनि साना तथा ठूलो यातायातका साधन निर्वाधरुपमा आवतजावत, पुलको माथिल्लो भागका खसालिएको नाला र मानवीय अतिक्रमणको कारण दिन प्रतिदिन कमजोर बन्दै गएको छ । प्राकृतिक सम्पदाको संरक्षण केवल सरकारको मात्र दायित्व होइन, यो साझा जिम्मेवारी हो । स्थानीय तह, सरोकारवाला निकाय र समुदाय सबैले मिलेर यसको संरक्षणमा ध्यान दिनु आवश्यक छ । हालसम्म देखिएको बेवास्ताले भने पश्न उठेको छ यति महत्वपूर्ण सम्पदा जोगाउने जिम्मेवारी कसले लिने हो रु

यो प्राकृतिक पुलको तत्काल अध्ययन, संरक्षण योजना निर्माण, सवारी आवतजावतमा नियन्त्रण र पर्यटन प्रवद्र्धन अपरिहार्य रहेको विज्ञहरुको सामूहिक धारणा रहेको छ । अमेरिकाको भर्जिनिया राज्यमा रहेको प्राकृतिक पुल विश्वको सातौँ आश्चर्यमध्ये एक मानिन्छ, जुन पुल २१५ फिट उचाइ र ९० फिट चौडाइ रहेको तथ्याङ्कमा उल्लेख छ । उक्त पुल हेर्नका लागि विश्वका विभिन्न मुलुकका लाखौँ पर्यटक जाने गरेका छन् । पुल अवलोकनका लागि प्रतिटिकट नौ डलरको व्यवस्था गरिएको छ । पोखराको यस पुललाई पनि यसरी नै राष्ट्रिय अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सकिए उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नसक्ने प्रचुर सम्भावना छ ।