काठमाडौँ, वैशाख ९ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट आन्दोलनले क्षणिक रूपमा धक्का खाएको बताउनुभएको छ । नेकपाको स्थापना ७७ औं स्थापना दिवसको अवसरमा आज बुधवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा संयोजक प्रचण्डले आफूहरू सत्तामा रहँदा गरेको कमजोरी र विकृतिको सजाय जनताले निर्वाचनमार्फत दिएको र क्षणिक रूपमा कम्युनिस्ट आन्दोलनले धक्का खाएको भन्दै अब आफैँभित्र जम्मा भएको फोहोर सफा गर्ने अवसर भएको बताउनुभयो ।
पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘अहिले क्षणिक रूपमा कम्युनिस्ट आन्दोलनले धक्का खाएको देखिएकै छ, त्यसबाट हामीले शिक्षा लिनैपर्दछ । कहाँ कमजोरी भयो भन्ने कुराको हामीले बस्तुवादी समीक्षा गर्नै पर्दछ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा संयोजक प्रचण्डले भन्नुभयो, ‘सायद हामी सत्तामा बस्दा, कुर्सीमा बस्दा बस्दा धेरै फोहोरहरू हामीभित्र जम्मा हुँदै गएको थियो । अहिले जनताले हामीलाई घृणा गरेको होइन, जनताले हामीलाई नुहाईधुवाई गरेर आउ भनेर सवक सिकाएको हो । ’
उहाँले विगतमा भएका गल्ती र कमजोरी स्वीकार्न कुनै कठिनाइ नहुने भन्दै लेनिनले भनेजस्तै कम्युनिस्ट र बुर्जुवाबिचको अन्तर नै गल्ती स्वीकारर्ने र नस्वीकार्नेबाट पहिचान हुने बताउनुभयो । प्रचण्डले अब फेरि एक पटक सबै राष्ट्रवादी शक्ति एक ठाउँमा आएर राष्ट्रका सामु आएका चुनौतीको मुकाबिला गर्न नयाँ शिराबाट उठ्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।







