कोलम्बो, वैशाख ९ गते । श्रीलङ्का सरकारले राष्ट्रिय क्रिकेट बोर्डको कार्यकारी समितिलाई यसै साताको अन्त्यसम्ममा नयाँ प्रशासनका लागि मार्ग प्रशस्त गर्न निर्देशन गरेको छ । श्रीलङ्काले गत फेब्रुअरी–मार्चमा भारतमा आयोजना गरिएको टी–२० विश्वकपमा प्रतिस्पर्धाबाट बाहिरिएको थियो ।
श्रीलङ्का क्रिकेट देशको सबैभन्दा धनी खेलकुद निकाय हो तर यो भ्रष्टाचार र कुव्यवस्थापनले ग्रस्त छ । हाल बोर्डका प्रमुख रहनुभएका शम्मी सिल्भाले आफ्नो चौथो कार्यकालको जिम्मेवारी सम्हालिरहनुभएको छ । नाम नबताउने सर्तमा एक अधिकारीले भन्नुभयो, “पूर्व इन्भेस्टमेन्ट बैङ्करको नेतृत्वमा बोर्डको अन्तरिम प्रशासन रहनेछ ।”
“सरकारले जनताको आक्रोशको जवाफ दिइरहेको छ,” उहाँले भन्नुभयो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले स्थानीय बोर्ड सञ्चालनमा राजनीतिक हस्तक्षेप भएको भन्दै सन् २०२३ नोभेम्बरमा श्रीलङ्काको सदस्यता निलम्बन गरेको थियो । त्यो निलम्बन सन् २०२४ जनवरीको अन्त्यमा हटाइएको थियो ।







