काठमाडौँ, वैशाख ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री सुधन गुरुङसँग जोडिएका विवादित विषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताउनुभएको छ । राप्रपाले आज सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका दिपक भट्टसँग गृहमन्त्री गुरुङको व्यापारिक साझेदारी रहेको विषयबारे तत्काल स्पष्ट पार्न सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वसँग माग गर्नुभएको हो ।
अध्यक्ष लिङदेनले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका भट्ट सम्बद्ध स्टार माईक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको काजजात सार्वजनिक भइरहेका बेला सुशासनको कुरा गर्ने सरकारले गृहमन्त्रीबारे सञ्चार माध्याममा आइरहेका विषयमा स्पष्ट पार्नुपर्ने जिकिर गर्नुभएको हो ।
अध्यक्ष लिङदेनले भन्नुभयो, ‘सुशासनको कुरा गर्ने गृहमन्त्रीको बारेमा अहिले सञ्चार माध्यममा जे आइराखेको छ, त्यसको बारेमा सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्छ । गृहमन्त्रीले आफ्नो पोशिजन क्लियर गर्नुपर्छ । पार्टी सभापतिले गृहमन्त्रीको बारेमा आफ्नो पोजिशन क्लियर गर्नुपर्छ ।’
अध्यक्ष लिङदेनले स्टन्टको भरमा देश नचल्ने भन्दै अनधिकृत रुपमा सडक छेउका घरटहरा भत्काउने नाममा सरकारले राज्य आतङ्क फैलाएकोमा आक्रोश व्यक्त गर्दै सरकारको आलोचनासमेत गर्नुभयो ।







