काठमाडौँ, वैशाख ७ गते । नेपाली काङ्ग्रेसले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै तत्काल छानबिन सुरु गर्न सरकारसँग आग्रह गरेको छ । काङ्ग्रेसले गृहमन्त्री गुरुङसँग सम्बन्धित पछिल्लो प्रकरणको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको हो ।।
आज सोमबार पार्टी प्रवक्ता देवराज चालीसेद्वारा जारी विज्ञप्तिमा गृहमन्त्रीको पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुनसक्ने भन्दै छानबिनलाई निष्पक्ष र प्रभावरहित बनाउन वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली काङ्ग्रेस सरकारसमक्ष स्पष्ट माग गर्दछ– गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस् । यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पु¥याउनेछ ।’ “नैतिकता र स्वच्छताको राजनीतिलाई संस्थागत गर्ने हाम्रो प्रयास कुनै व्यक्ति वा दल विशेष लक्षित नभई समग्र राजनीतिक संस्कार सुधारतर्फ उन्मुख छ ।”
‘सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशङ्का उत्पन्न हुनु स्वाभाविक हो । त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ’ भनी विज्ञप्तिमा उल्लेख गरिएको छ ।








