काठमाडौँ, वैशाख ७ गते । गृहमन्त्री सुधन गुरुङले आफ्नो नाममा उठेका प्रश्नहरूको जवाफ दिँदै अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको छ । गृहमन्त्री गुरुङले आज सोमबार आफ्नो नाम जोडेर सार्वजनिक भएका सेयर लगानीसम्बन्धी विवादका विषयमा सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै आफूमाथि लागेका आरोप सत्य नभएको जिकिर गर्नुभएको हो ।

मन्त्री गुरुङले आरोप र सत्य एउटै कुरा नभएको उल्लेख गर्दै निर्णय प्रमाणका आधारमा हुनुपर्ने बताउनुभएको छ । मन्त्री गुरुङले आफूले कुनै पनि सम्पत्ति नलुकाएको र आफ्नो लगानी बैंकिङ प्रणालीबाटै पारदर्शी रूपमा गरिएको बताउनुभयो ।
मन्त्री गुरुङले आफूमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै अनुसन्धानमा पूर्ण सहयोग गर्ने र पार्टीले गर्ने हरेक निर्णयलाई शिरोधार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आफूले २५ लाख रुपैयाँ बराबरको सेयर लुकाएको भन्ने चर्चाको खण्डन गर्दै मन्त्री गुरुङले मन्त्रिपरिषद्को वेबसाइटमा सार्वजनिक गरिएको आफ्नो सम्पत्ति विवरणमा २ करोडभन्दा बढीको लगानी स्पष्ट उल्लेख गरिएको जिकिर गर्नुभएको हो ।

‘…म यति मात्र भन्न चाहन्छु, आरोप र सत्य एउटै कुरा होइनन् । निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ,’ गुरुङले भनेका छन्, ‘तथापि, म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु ।’

मन्त्री गुरुङले शहीदहरूको बलिदान र ‘जेनजी आन्दोलनको मर्मप्रति आफू जिम्मेवार रहेको उल्लेख गर्दै हल्लाका पछि नलागी प्रमाणका आधारमा निर्णयमा पुग्न सबैलाई आग्रह गर्नुभएको छ ।