काठमाडौँ, वैशाख ७ गते । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग गरेको छ । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उहाँलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको हो ।
जेनजी मुभमेन्ट, नेपालका प्रवक्ता विजय शाहद्वारा आज सोमबार जारी गरिएको विज्ञप्तिमा मन्त्री पदमै बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने र आफ्नैविरुद्ध छानबिन हुनु आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत रहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपहरूलाई लिएर हामी सरकारसँग कडा माग गर्दछौँ । उहाँलाई तत्काल बर्खास्त गरी पक्राउ गर्नुहोस् । निष्पक्ष अनुसन्धान अघि बढाउनुहोस् ।’
विवादास्पद व्यापारी दीपक भट्टसँग साझेदारी रहेको विषय बाहिरिएपछि गृहमन्त्री गुरुङ विवादमा पर्नुभएको छ ।








