काठमाडौँ, वैशाख ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आज सोमबार दिउँसो ३ बजे बस्ने तय भएको हो ।
प्रवक्ता मनिष झाका अनुसार बैठकमा साङ्गठनिक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी र नीतिगत सुधार, पदाधिकारी मनोनयन र स्थानीय तह निर्वाचनबारे केन्द्रित रहेर छलफल हुनेछ । बैठकमा महाधिवेशन कार्यविधि मस्यौदा, प्रवासमा रहेका नेपालीलाई मताधिकारदेखि संसदीय दलको विधान संशोधनलगायतका ९ वटा एजेण्डा तय गरिएको छ ।
केन्द्रीय समिति बैठकमा पार्टी गतिविधि ब्रिफिङ, केन्द्रीय सदस्यहरूको रिपोर्टिङ, केन्द्रीय समिति पदाधिकारी मनोनयनबारे छलफल, महाधिवेशन कार्यविधि मस्यौदा, विधान संशोधन, स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आव्हान, प्रवासमा रहेका नेपालीहरूलाई प्रवासबाटै मताधिकार दिने विषय, सचिवालयका निर्णय अनुमोदन र विविध सम्बन्धमा छलफल हुने प्रस्तावित कार्यसूची रहेको पार्टीले जनाएको छ ।







