काठमाडौँ, वैशाख ७ गते । काठमाडौँ महानगरपालिकाले विभिन्न समयमा चोरी भएर विदेशका सङ्ग्रहालयमा पुगेका प्राचीन मूर्ति फिर्ता गर्ने र सङ्ग्रहालयमा राखिएका मूर्तिलाई आफ्नै स्थानमा फिर्ता गराउन थालेको छ । कामपाले विश्व सम्पदा दिवसको अवसर पारेर राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा राखिएको १३औँ शताब्दीको महागौरी÷पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति वडा नं २० मरुस्थित गःगुठी सूर्यमुखी महादेव मन्दिर परिसरको आफ्नै आसनमा पुनःस्थापित गरेको छ ।

कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत, वडा नं २० का अध्यक्ष राजेन्द्र मानन्धर, सम्पदा अभियानकर्ताद्वय गणपतिलाल श्रेष्ठ र अधिवक्ता सञ्जय अधिकारीले सङ्ग्रहालयको जुद्धजातीय कलाशालामा राखिएको यो मूर्ति बुझेर ल्याउनुभएको हो । 

सङ्ग्रहालयका प्रमुख अरुणा नकर्मी, हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजिमान प्याकुरेल, राष्ट्रिय सङ्ग्रहालयका सङ्ग्रहालय अधिकृत सुवासकृष्ण डङ्गोल र पुुरातत्व विभागका पुरातत्व अधिकृत अमृता महर्जनको रोहवरमा सङ्ग्रहालयका भण्डारे विन्दा श्रेष्ठ र सहायक पथप्रदर्शक उषाकुमारी सिंहले मूर्ति बुझाउनु भएको हो । 

मूर्तिको नाप ६८।५ सेन्टिमिटर उचाइ र ३०।५ सेन्टिमिटर चौडाइको रहेको जनाइएको छ । सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत भन्नुहुन्छ, “काठमाडौँको पहिचान जोगाउनु हाम्रो मुख्य दायित्वमध्येको एउटा दायित्व हो । यसप्रति हामी प्रतिबद्ध छौँ । नियमित काम गरिरहन्छौँ ।” 

चोरिएर लण्डन पुगेको यो मूर्ति, नेपाली दूतावास बेलायतबाट फिर्ता भएपछि पुरातत्व विभागले २०५२ साल चैत २९ गते राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित राख्न पठाएको थियो । 

हरेक वर्ष अङ्ग्रेजी महिनाको एप्रिल १८ तारिख इन्टरनेसनल डे फर मोनुमेन्ट्स एन्ड साइट्स अर्थात् विश्व सम्पदा दिवसका रुपमा मनाउने गरिन्छ । इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एन्ड साइट्स ९स्मारक क्षेत्रहरुको अन्तरराष्ट्रिय परिषद्० ले दिवस मनाउन सुरु गरेको हो ।

यो सन् १९६५ मा स्थापना भएको हो । परिषद्ले सन् १९८२ मा दिवस मनाउन राखेको प्रस्ताव त्यसको १ वर्षपछि युनेस्कोले पारित गरेपछि अन्तरराष्ट्रिय रुपमा दिवस मनाउन थालिएको हो । नेपालमा भने सन् २०१० बाट दिवसलाई औपचारिक रुपमा मनाइन्छ ।