काठमाडौँ, चैत २३ गते ।
दाँत हाम्रो शरीरको एक अत्यन्त महत्वपूर्ण अङ्ग हो, जसले हाम्रो दैनिक जीवनमा महत्वपूर्ण भूमिका खेल्दछ । दाँतले खाना राम्रोसँग चपाउन सहयोग गर्ने मात्र होइन, स्पष्ट रुपमा बोल्न र आकर्षक मुस्कान दिन पनि मद्दत गर्छ । स्वास्थ्य दाँतले आत्मविश्वास बढाउँछ र व्यक्तित्वलाई अझ प्रभावशाली बनाउँछ । दाँतको उचित हेरचाह नगर्दा विभिन्न प्रकारका मुखसम्बन्धी रोगहरु देखा पर्न सक्दछन्, जसले समग्र स्वास्थ्यमा समेत नकारात्मक असर पार्न सक्दछ ।

सामान्यतया मानिसमा दाँतको सुरक्षा हेरचाह गर्ने विषयमा खासै चासो दिएको पाइँदैन । तर पछिल्लो समयमा सामाजिक चेतनाको विकासले स्वास्थ्यप्रति जनचासो बढेको हामी देख्न सक्दछौं । यो सँगै दाँतको हेरचाहका बारे समाज सुसूचित हुँदै गएको छ । मानवीय स्वास्थ्यका लागि दाँतको संरक्षण गर्नु, दाँतको सरसफाईलाई ध्यान दिनु अपरिहार्य हुन्छ । हामीले दाँतलाई सधैं सफा राख्न सक्यौंभने स्वास्थ्य जीवनयापन गर्न सक्दछौं भन्ने हेक्का राख्नु पर्दछ । दाँत सफा नराख्दा नै धेरै रोगको शिकार बन्न पुगिन्छ ।
सामान्यत दाँतका समस्याहरु यस्ता हुन्छन्ः
— दाँतमा किरा लाग्नु ।
— गिजा सुनिने र रगत आउने ।
— दाँतमा सङ्क्रमण हुँदा दाँत विग्रने र दाँत दुख्ने ।
— मुख गनाउने र
— मुखको क्यान्सर ।
दाँत विग्रनुका मुख्य कारणहरु हाम्रो दैनिक बानी व्यहोरा र जीवनशैली नै हो । चिनी जन्य धेरै गुलिया खाने परिकारहरु जस्तै विभिन्न किसिमका चकलेट, पसलमा बनाइएको मिठाइहरु, कोकाकोला, फेन्टा जस्ता विभिन्न पेयपदार्थहरुको अत्यधिक सेवनले दाँतमा समस्या आउने गर्दछ ।
रोग लाग्नुको कारणहरुः
नियमित रुपमा दाँत सफा नगर्ने, ब्रस नगर्ने, गलत तरिकाले ब्रस गर्ने ।
दाँतको सुरक्षाका लागि दन्त चिकित्सकसँग आवश्यक परामर्श नगर्ने, परामर्श लिए पनि त्यसलाई कार्यान्वयनन नगर्ने ।
धुम्रपान (चुरोट, खैनी, सुपारी, गुड्खा, पान र अल्कोहल) सेवनबाट ।

दाँतलाई कसरी सुरक्षित राख्ने या कसरी जोगाउनेः
दाँतलाई स्वास्थ्य राख्नका लागि दैनिक जीवनमा केही सरल तर प्रभावकारी उपायहरु अवलम्बन गर्नु आवश्यक छ ।
दाँतलाई दैनिक रुपमा कम्तिमा दुई पटक (साँझ–बिहान खाना खाएपछि) सहि तरिका ब्रस गर्ने ।
दाँतको बीच बीचमा अड्केका खानेकुराहरु या फोहोर हटाउन ँयिकक प्रयोग गर्ने ।
अत्यधिक मिठा अर्थात् गुलिया खानेकुराहरु उपभोग गर्न कम गर्ने र चिनी जन्य गुलियो पदार्थ खाए लगतै मुख कुल्ला गर्ने ।
फ्रोराइड भएको दन्तमञ्जन प्रयोग गर्ने ।
प्रत्येक ६/६ महिनामा दन्त चिकित्सकसँग दाँतको परीक्षण गराउने ।
सुपारी, गुड्खा, पानपराग, पानमसला जस्ता कुराहरु नखाने ।
मानवीय स्वास्थ्यका लागि प्रतिकुल प्रभाव पार्ने धुम्रमान, मध्यपान जस्ता वस्तुहरुबाट टाडै रहने अर्थात् सेवन नगर्ने र अरुलाई पनि खान हुन्न भन्ने सचेतना गराउने ।
सबै उमेर समूहका लागि सुझावः
बालबालिका समूहः
दुधे दाँत अस्थायी भए पनि अत्यन्त महत्वपूर्ण हुन्छन् । बच्चाहरुको दुधे दाँतमा रोग लागेमा या त्यस्तो दाँतलाई राम्रोसँग हेरविचार नगरेमा यसले स्थायी दाँतको विकासमा नकारात्मक प्रभाव पार्नुका साथै दाँतलाई कमजोर बनाउँदछ । त्यसैले यस्ता समूहका बालबालिकालाई विभिन्न किसिमका चकलेट, विस्कुटहरुका साथै गुलियोजन्य वस्तुहरु खानबाट टाडै राख्नु पर्दछ । चकलेट, मिठाई या गुलिया वस्तुहरु खाए पछि मुख सफा पानीले कुल्ला गर्न लगाउनु उपयुक्त हुन्छ ।

किशोरावस्थाको समूहः
यस्ता समूहका युवायुवतीहरुले स्वस्थ्य खानपान र आफ्नो जीवनशैलीलाई विशेष ध्यान दिनु पर्नेहुन्छ । यो उमेर समूहका युवायुवतीहरुमा कोकाकोला, फेन्टा, आइसक्रिम जस्ता गुलिया पेय पदार्थ, मध्यपान, धुम्रपान गर्ने भएकाले आफ्नो दाँतलाई कसरी सुरक्षित र सफा राख्ने भनेर सचेत हुनुपर्दछ र त्यस्ता खानेकुरा खानासाथ मुख कुल्ला गर्ने बानी बसाल्नु पर्दछ ।
वृद्धवृद्धाको समूहः
मानिसको उमेर जतिबढ्दै जान्छ प्रायःजसो दाँत पनि कमजोर हुँदै जान्छ र दाँत झर्ने, खिइने र भाँचिने जस्ता समस्या पनि आउने हुन्छ । यस्तो अवस्थामा कृतिम दाँत हाल्ने वा अन्य उपचारको आवश्यकता पर्न सक्दछ ।
दन्त चिकित्सकको कहाँ जानेः
धेरै मानिसहरु समस्या गम्भीर भएपछि मात्रै दन्त चिकित्सककोमा जाने गर्दछन् । जुन सही कुरा सहि होइन । प्रत्येक ६/६ महिनामा स्वास्थ्य चौकी, अस्पताल या दाँतको डाक्टरकोमा जानु पर्दछ । दाँतको चेकजाँच गराउनु पर्दछ । दाँतमा निम्न लक्षणहरु देखिएमा तुरुन्त दन्त चिकित्सकसँग परामर्श लिनु पर्दछ ।
— दाँत दुख्ने ।
— गिजाबाट रगत आउने ।
— मुख गनाहुने ।
— चिसो/तातो दाँतमा लाग्ने ।
— दाँत हल्लिने वा भाँचिने ।
— मुखमा लामो समयसम्म घाउ आउने ।

निष्कर्षः
स्वस्थ्य दाँतले हाम्रो मुस्कानलाई सुन्दर बनाउनुका साथै सम्पूर्ण स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ । दाँतको सानो बेवास्ताले पनि ठूलो समस्या निम्त्याउन सक्छ । त्यसैले, नियमित रुपमा दाँतको हेरचार गर्नु, स्वस्थ्य बानी अपनाउनु र समय–समयमा दन्त परीक्षण गराउनु आवश्यक छ । ‘‘ स्वस्थ्य दाँत, स्वस्थ्य जीवन’’ भन्ने भनाइलाई व्यवहारमा उतार्न सकेमात्र हामी पूर्णरुपमा स्वस्थ्य जीवन बिताउन सक्दछौं ।