काठमाडौँ, वैशाख ११ गते । नेपाली काङ्ग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित गरिएको छ । संसदीय दलको नेता चयन गर्नका लागि आज शुक्रबार निर्वाचन गर्ने तालिका तोकिएकोमा सर्वसम्मत रूपमा नेता चयनका लागि भन्दै निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको निर्वाचन समितिले जानकारी गराएको हो ।

पार्टीसँगको परामर्शमा सर्वसम्मत रूपमा नेता चयन गर्ने प्रयास भइरहेको काङ्ग्रेसले जनाएको छ । संसदीय दलको नेता चयन सर्वसम्मतबाट गर्ने प्रयोजनका लागि आज बसेको काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरिएको छ ।

उक्त समितिमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे तथा निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेही, निर्वाचन समिति सदस्यहरू मुना भुसाल र अधिवक्ता राजु कटुवाल सदस्य रहनुभएको छ । निर्वाचन कार्यतालिकासहितको अर्को सूचना यथाशीघ्र प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ ।