काठमाडौँ, वैशाख ११ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज शुक्रबार साँझ ७ बजेसम्म सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै भोलि शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने हुँदा आज साँझ ७ बजेसम्म बस्ती खाली गराउन भनेको हो ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी गरिएको सूचनामा नदी किनारका सार्वजनिक, सरकारी पर्ती जग्गामा बनेका घर टहरालगायतका संरचना हटाउन भनिएको छ ।

जिल्ला प्रशासनद्वारा जारी सूचनामा भनिएको छ, ‘अवैध रुपमा बनाइएका घर टहराहरू मिति २०८३ वैशाख ११ गते साँझ ७ बजेभित्रमा खाली गर्नुहोला । मिति २०८३ वैशाख १२ गते बिहान ६ बजेदेखि घर टहराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रुपमा खाली गर्ने कार्य हुनेछ । त्यस कार्यमा कोही कसैले बाधा व्यवधान सिर्जना गर्ने कार्य गरेमा कानुनबमोजिम कडा कारबाही भई जानेछ ।’

जिल्ला प्रशासनद्वारा जारी सूचनामा भनिएको छ, ‘यदि कोही कसैले यस सूचनालाई अटेर गरी बसेको खण्डमा स्थानीय प्रशासन, प्रहरी र काठमाडौं महानगरपालिका समेतको संयुक्त कारबाही गर्दा भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार तपाईं स्वयं हुनुहुनेछ ।’


जिल्ला प्रशासन कार्यालयले तोकेको समयभित्र बस्ती खाली नभए स्थानीय प्रशासन, प्रहरी र महानगरपालिकाको संयुक्त कारबाही गरी संरचनाहरू भत्काइने चेतावनी समेत दिएको छ ।

घरटहरामा बसोबास गर्ने अपाङ्ग, साना बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा एवं बिरामी व्यक्तिहरूलाई प्राथमिकता दिँदै अन्यत्र सुरक्षित स्थानमा सार्न सूचनामा भनिएको छ । वैशाख १२ गते बिहान ६ः०० बजेदेखि त्यस्ता घरटहरा भत्काउने, अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गर्ने कार्य हुने र कोही कसैले बाधा अवरोध सृजना गरेमा कानुनबमोजिम कडा कारबाही गरिने जनाइएको छ ।

सूचनामा सुरक्षित रूपमा बसोबासको व्यवस्था भएपछि नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा अन्य अधिकारप्राप्त निकायबाट वास्तविक भूमिहीन सुकुम्बासीहरूको लगत लिने र स्क्रिनिङ गर्ने कार्य तत्काल सुरु हुने जानकारी दिइएको छ ।

आगामी १०–१५ दिनभित्र पहिचान भएका वास्तविक भूमिहीनलाई बसोबासको उचित प्रबन्ध गर्न तयारी भइरहेको छ । “यदि कोही कसैले यस सूचनालाई अटेरी गरी बसेको खण्डमा स्थानीय प्रशासन, प्रहरी र काठमाडौँ महानगरपालिकासमेतको संयुक्त कारबाहीबाट भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार तपाईँ स्वयं हुनेहुनेछ”, सूचनामा उल्लेख छ ।