काठमाडौँ, कात्तिक १९ गते । परराष्ट्रमन्त्री शिशिर खनालले शिक्षा, प्रविधि, नवप्रवर्तन र जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको बताउनुभएको छ । साउथ एसिया फेडेरेसन अफ जापानिज युनिभर्सिटी अल्मुनाई एसोसिएसन (साफजुआ) द्वारा आज आयोजित ‘साफजुआ सिम्पोजियम २०२६’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले शैक्षिक आदानप्रदानबाट स्थापित सम्बन्ध राष्ट्रहरूबीचको सबैभन्दा बलियो र दीर्घकालीन सम्बन्ध बन्न सक्ने बताउनुभयो ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका सन्दर्भमा उहाँले दुई देशबीचको मित्रता औपचारिक कूटनीतिक सम्बन्धभन्दा पुरानो रहेको उल्लेख गर्नुभयो । सन् १८९९ मा जापानी बौद्ध भिक्षु एकाई कावागुची बौद्ध धर्मसम्बन्धी ग्रन्थको खोजीमा नेपाल आउनुभएको र सन् १९०० को सुरुआतमा आठ नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि जापान गएको उहाँले स्मरण गर्नुभयो । यी प्रारम्भिक सम्पर्कले दुई देशका जनताबीच सम्बन्धको जग बसालेको र त्यसले सन् १९५६ मा औपचारिक कूटनीतिक सम्बन्धको रूप लिएको उहाँको भनाइ थियो ।

नेपालको विकास यात्रामा जापानको आर्थिक रूपान्तरण र प्राविधिक प्रगतिले प्रेरणा दिएको उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले पछिल्लो सात दशकदेखि जापान नेपालको विश्वासिलो विकास साझेदारका रूपमा रहँदै आएको बताउनुभयो ।

उहाँले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, विपद् उत्थानशीलता र मानव संसाधन विकासका क्षेत्रमा जापानले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्नुभयो।

हाल जापानमा तीन लाखभन्दा बढी नेपाली बसोबास गरिरहेको र गत वर्ष जापानमा अध्ययनरत अन्तरराष्ट्रिय विद्यार्थीमध्ये नेपाली दोस्रो ठूलो समूहका रूपमा रहेको उल्लेख गर्दै उहाँले यसले दुई देशबीचको शैक्षिक, सांस्कृतिक, आर्थिक तथा जनस्तरको सम्बन्धलाई थप जीवन्त बनाएको बताउनुभयो ।

नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षतिप्रति जापानी प्रधानमन्त्री साने ताकाइचीले प्रधानमन्त्री वालेन्द्र शाहसँग टेलिफोन संवादमार्फत व्यक्त गर्नुभएको समवेदना र ऐक्यबद्धताका लागि उहाँले धन्यवाद दिनुभयो । विपद्का बेला जापानले उपलब्ध गराएको तत्कालीन राहत सामग्री तथा फरेन्सिक विशेषज्ञता र डीएनए पहिचानमा गरेको सहयोगले दुई देशबीचको गहिरो मित्रता र ऐक्यबद्धता झल्काएको उहाँले बताउनुभयो ।

त्यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण तथा जापानका सम्राट र प्रधानमन्त्रीसँग भएका भेटवार्ताले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याएको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल–जापान सम्बन्धमा योगदान पुर्‍याउनुभएका पूर्वपरराष्ट्र सचिव तथा पूर्वराजदूत मदनकुमार भट्टराईलाई यस वर्ष जापान सरकारले ‘अर्डर अफ द राइजिङ सन, गोल्ड एन्ड सिल्भर स्टार’ सम्मान प्रदान गरेकामा पनि उहाँले खुसी व्यक्त गर्नुभयो ।

शिक्षालाई नेपाल–जापान सम्बन्धको महत्त्वपूर्ण आधारका रूपमा व्याख्या गर्दै परराष्ट्रमन्त्री खनालले जापानमा अध्ययन गरेका हजारौँ नेपाली विद्यार्थी, अनुसन्धानकर्ता तथा पेसाकर्मीले स्वदेश फर्किएर नेपालको संस्थागत विकास, उद्योग र समुदायमा योगदान पुर्‍याइरहेको बताउनुभयो ।

जापान सरकारको ‘प्रोजेक्ट फर ह्युमन रिसोर्स डेभलपमेन्ट स्कलरसिप’ (जेडीएस) कार्यक्रमले नेपाली सरकारी अधिकारीलाई जापानमा उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै उहाँले यसबाट सार्वजनिक नीति, सुशासन र विकास प्रशासनमा नेपालको संस्थागत क्षमता अभिवृद्धि भइरहेको बताउनुभयो ।

दक्षिण एसियाली मुलुकहरूले जलवायु परिवर्तन, प्राकृतिक विपद्, तीव्र सहरीकरण र युवाका लागि उत्पादनमूलक अवसर सिर्जना गर्नुपर्ने जस्ता साझा चुनौती सामना गरिरहेको उल्लेख गर्दै उहाँले यी क्षेत्रमा जापानसँग सहकार्यका प्रशस्त सम्भावना रहेको बताउनुभयो ।