काठमाडौँ, कात्तिक १८ गते । मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नेपाल प्रहरीको प्रमुख (प्रहरी महानिरीक्षक) मा नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले आईजीपी दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई आईजीपी बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको हो ।
सरकारका प्रवक्ता पोखरेलका अनुसार आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक केसीलाई प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम आजैका मितिदेखि लागूहुनेगरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय कार्की र सरकारबिच विवाद बढ्दै गएपछि सरकारले आईजीपी नै परिवर्तन गर्ने निर्णयमा पुगेको हो । मूलतः रास्वपा सांसद खगेन्द्र सुनार र प्रहरी महानिरीक्षक कार्कीबीचको विवादका साथै निर्वाचन प्रहरीको पोशाक खरिदमा अनियमितताको आरोप र प्रहरी कमाण्डमा प्रश्न उठेपछि सरकारले महानिरीक्षक परिवर्तन गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय प्रहरी महानिरीक्षक कार्की विभिन्न विवादमा मुछिएपछि सरकारले कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्दै प्रहरी महानिरीक्षकमा एआईजी केसीलाई लैजाने निर्णय गरेको छ । मन्त्री पोखरेलका अनुसार बैठकले वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन नेपाल प्रहरीको प्रहरी महानिरीक्षकस्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिर्जना गर्ने निर्णय गरेको छ । साथै उक्त पदमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई खटाउने निर्णय गरेको छ ।




