काठमाडौँ, कात्तिक १८ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन माग गरेको छ । नेकपाका प्रमुख सचेतक एवम् समितिका सदस्य युवराज दुलालले समितिका सभापति हरि ढकाललाई पत्र लेख्दै समितिको बैठक बोलाउन माग गर्नुभएको हो ।
समितिका सदस्य दुलालले प्रहरी हिरासतबाटै अडियो लिक भएको तथा पत्रकार पक्राउ लगायतका पछिल्ला विवादास्पद घटनाबारे गृहमन्त्री र प्रहरी महानिरीक्षक (आईजिपी) सँग जवाफ माग्न समितिको बैठक बोलाउन माग गर्दै सरकारी निकायका गैरकानुनी र अस्वाभाविक गतिविधिबारे सरकारलाई जवाफदेही बनाउन अविलम्ब समितिको बैठक बोलाउन समितिका सभापतिको ध्यानाकर्षया गराउनुभएको छ ।
समितिका सभापति ढकालले नेकपाका सांसद दुलालको मागलाई आफूले गम्भीरतापूर्वक लिएको र सदस्यहरूको अनुकूलता हेरेर सम्भव भएसम्म छिट्टै समितिको बैठक बोलाउने जानकारी गराउनुभएको बताइएको छ ।
समितिका सदस्य दुलालले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनिएको अडियो कसरी बाहिरियो र यसैसँग जोडेर प्रधानमन्त्री तथा उनका प्रमुख सल्लाहकार कुमार वेनले सामाजिक सञ्जालमा लेखेका स्टाटसहरूको आधार के हो भन्दै प्रश्न गर्नुभएको छ ।
पत्रकार पक्राउका विषयमा प्रहरीले माथिल्लो आदेश भन्ने र सरकारले पत्रकारलाई पक्राउ गर्न कुनै आदेश नगरिएको भन्ने सरकारको अभिव्यक्ति आफैंमा विवादास्पद देखिन्छ । यसबाट प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार कसको आड भरोसा र सल्लाहमा चलेको छ भन्ने संसय पैदा गरेको छ ।
समितिका सदस्य एवम् सांसद दुलालले ‘पत्रकार गिरफ्तार हुने र छोडिने तर सरकार आफूलाई थाहा नभएको भन्ने लगायतका गम्भीर सवालहरूमा गृहमन्त्री र आईजिपीलाई समितिको बैठकमा उपस्थित गराएर जवाफ माग्नु राज्य व्यवस्था समितिको जिम्मेवारी हो’ भन्नुभएको छ ।




