काठमाडौँ, कात्तिक ५ गते । बडादशैंको दोस्रो दिन, आज पनि आफन्त मान्यजनहरुको हातबाट टीका र जमरा लगाएर दसैँ मनाइँदैछ । आज पनि नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर बडादसैँ मनाइएको हो ।

बुधबार बडादसैँको मुख्य दिन अर्थात् बिजयादशमी हो भने आज एकादशी हो । त्यसैले हिजो टीका थाप्न नभ्याएकाहरुले आज पनि आफन्त तथा मान्यजनहरुको घरमा पुगेर बिजयादशमीको टीका थापिरहेका छन् । दसैंको टीका कोजाग्रत पूर्णिमाको दिनसम्म लगाउने प्रचलन रहिआएको छ ।

हिजो घरैमा टीका लगाएका कतिपय नागरिकहरु काठमाडौँ बाहिर रहेका आफन्त र मान्यजनको हातबाट दसैं टीका र आर्शीवाद ग्रहण गर्न आआफ्नो गन्तव्यतिर गइरहेका छन् । काठमाडौँबाट लामो तथा छोटो दूरीका सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेकाले कतिपय नागरिक आफन्त र मान्यजनहरुकहाँ टीका थाप्नका लागि बाहिरिएका हुन् । त्यस्तै मानिसहरु बाहिरबाट पनि काठमाडौँ आइरहेका छन् ।

त्यसैले आज पनि बडादसैँको टीका लगाउने र लगाइदिने एवम् आशीर्वाद लिने दिने क्रम जारी नै रहेकाले काठमाडौँमा चहलपहल केही बढेको देखिएको छ ।