ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई लक्षित गरी बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना नगर्न, अस्वाभाविक मूल्यवृद्धि नगर्न र गुणस्तरहीन वस्तुको बिक्री वितरण नगर्न आग्रह गरेको छ । विभिन्न बहानामा अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने, अनावश्यक भण्डारण गरी कालोबजारी गर्ने तथा गुणस्तरहीन वस्तु बिक्रीवितरण गर्ने जनगुनासो बढेको जनाउँदै प्रशासनले त्यस्ता गतिविधि नगर्न सम्बन्धित व्यवसायीलाई सचेत गराएको हो ।
आज सूचना जारी गर्दै प्रशासनले खाद्यान्न, दाल, नुन, तेल, चिनी, ग्यास, पेट्रोलियम पदार्थ तथा औषधिजस्ता अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज, सुलभ र नियमित बनाउन सम्बन्धित सबै सरोकार भएका निकायलाई अनुरोध गरेको छ ।
बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने, कालोबजारी गर्ने, कार्टेलिङ गर्ने तथा गुणस्तरहीन वस्तु बिक्री वितरण गर्नेजस्ता गुनासो प्राप्त भएकाले यस्ता गैरकानुनी कार्य नगर्न र नगराउन सचेत गराइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बताउनुभयो ।
चाडपर्वका समयमा उपभोक्तालाई सहज रूपमा आवश्यक वस्तु उपलब्ध गराउन तथा बजारमा अनुचित गतिविधि नियन्त्रण गर्न प्रशासनले सम्बन्धित सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ । प्रशासनको आग्रह विपरीत कार्य गरेको पाइएमा कानुनी कारबाही हुनेसमेत जनाइएको छ ।रासस




