काठमाडौँ, असोज २५ गते । शरद ऋतुको आगमन, खुल्दै गएको निलो आकाश, खेत बारीमा लहलह झुल्न थालेका धानका बाला, भिरपाखामा फुलेका सेताम्मे काँस, मिर्मिरे बिहानी र गोधुली साँधको चिसो चिसो मौसमको स्पर्शले दशैँ आयो भन्ने आभाष हुन्छ । पहाडी गाउँ घरमा रातो माटो र सेतो कमेरोले लिपेर सिंगारिएका घरहरु । दशैँ तिहारको छनक, मनमा एक खालको उत्साह र उमंग एकातिर छ नै । तर यतिबेला नेपाल प्राकृतिक विपत्तिको चपेटामा छ । जलवायुको प्रभाव हो या के हो, बेमौसमी अत्याधिक वर्षाले बाढी पहिरो र हिमपहिरो जस्ता प्राकृतिक विपत्तिको असैह्य पीडामा डुबेको छ, नेपाली समाज । यसबीचमा सबैको घर आँगनमा आइसकेको यस वर्षको चाडपर्व वडादशैँ, तिहार, नेपाल सम्वत र छठ पर्व ।
भोटेकोशी, कालीगण्डकी, बुढीगण्डकी जस्ता नदीहरुमा उर्लेको भेलले यी चाडपर्वको रौनकलाई पखालेर निरश जस्तै बनाइदिएको छ । बाढीले चुँडाएका सम्बन्ध, खोसेका संहारा र अधुरा बनाएका सपनाका बीच केही घर अझै शोकमा छन् । केही आमाहरू अझै आफ्ना सन्तानको सम्झनामा आँसु पुछिरहेका छन् । केही बुवाहरु अझै सन्तान घर फर्किन्छन् कि ! भनेर बाटो हेरिबसेका छन् त, केही परिवार अझै हराएका आफन्त आउछ्न कि भन्ने पर्खाइमा छन् । उनीहरूका लागि यस वर्षको चाडपर्वहरु खुसीमाभन्दा बढी सम्झना र पीडामा बित्दै छन् ।
प्राकृतिक विपत्ति, राष्ट्रिय विषम परिस्थिति र बिछोडको पीडा, बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपको चपेटाबीच नजिकिँदै गरेका चाडपर्वहरु (विजया दशमी, दिपावली र छठ पर्व)ले नेपाली मनमनमा पीडाबोध गराएको छ । सामाजिक परिवेश, मानवीय संवेदना त आफ्नो ठाउँमा छ नै, यस्तो परिवेशमा पीडामा रहेका नागरिकहरुप्रति राज्यले बहन गर्नुपर्ने दायित्व र जिम्मेवारीले पनि गम्भीर बनाएको छ ।
नेपाली समाजमा दसैँ, तिहार, नेपाल सम्वत् र छठ पर्व केवल चाडपर्व मात्र होइनन्, यी हाम्रा सांस्कृतिक पहिचान, पारिवारिक एकता, सामाजिक सद्भाव र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको आत्मीयताका जीवन्त प्रतीक हुन् । वर्षभरि आ–आफ्ना काममा व्यस्त रहेका परिवारका सदस्यहरू एकै ठाउँमा भेला हुने, टाढिएका सम्बन्धहरू नजिकिने, मान्यजनबाट आशीर्वाद लिने र दुःखसुख साटासाट गर्ने अवसरका रूपमा यी पर्वहरूको विशेष महत्व रहेको छ । त्यसैले नेपाली समाजमा चाडपर्वको आगमनसँगै घरआँगनमा छुट्टै उमङ्ग छाउँछ, बजारमा चहलपहल बढ्छ र परदेशिएका सन्तानको घरफिर्तीको प्रतीक्षाले परिवारका सदस्यहरूको मनमा नयाँ आशा पलाउँछ ।
तर यस वर्ष नजिकिँदै गरेका दशैँ, तिहार र छठको उल्लासबीच गत भदौ १० गते बुधबार (चीनको छोचेन खोला) नेपाल–चीन सीमाक्षेत्रको रसुवागढी नजिकै भोटेकोशी नदीमा गएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका नदी तटीय क्षेत्रमावितण्डा मच्चाउँदा देशका ७७ वटै जिल्लाका कैयौं श्रमिक, मजदुर, राष्ट्रसेवक कर्मचारी, स्थानीयबासिन्दा विलिन हुन पुगे । कैयौंको घरबार बगाए । कैयौं जलविद्युत् आयोजना र यातायात, सडक, पुल पुलेसा र पूर्वाधारमा क्षति पुग्यो ।

असोज २४ गतेसम्मआइ पुग्दा १ हजार ४ सय ५५ जनाको मृत्यु, ५ बजार २ सय ८५ जना बेपत्ता र १३ हजार ७ सय ९५ जनाको उद्धार गरिएको समाचार सार्वजनिक भएको छ । विनाशकारी बाढीका कारण कतिपय परिवारको जीवनमा यस्तो पीडा छाएको छ, जसले चाडपर्वको खुसीलाई समेत आँसुमा बदलिदिएको छ । प्राकृतिक विपत्ति, जनधनको क्षति, परिवार विखण्डन, आर्थिक अभाव र भविष्यप्रतिको अनिश्चितताले धेरै नागरिकको जीवन कठिन बनाएको छ । भोटेकोशी क्षेत्रमात्र नभइ कालीगण्डकी र बुढीगण्डकीमा पछिल्लो समय आएको बाढीले निम्त्याएको विनाश र त्यसबाट प्रभावित परिवारहरूको अवस्था सम्झँदा चाडपर्वको रौनकता नै खल्लो बनेको छ ।
चाडपर्वको वास्तविक सुन्दरता परिवारका सदस्यहरूको सामीप्यमा हुन्छ । आमाको माया, बुबाको आशीर्वाद, दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता र बालबालिकाको हाँसोले घरलाई घर बनाउँछ र एक खालको स्वर्गीय आनन्द प्रदान गर्दछ । तर, जब विपत्तिले यही आत्मीयताको आधार भत्काइदिन्छ, तब घरका भित्ता बाँकी रहे पनि घरको खुसी हराउन सक्छ ।
भोटेकोशी बाढी होस् या कालीगण्डकी र बुढीगण्डकीको बाढी नै किन नहोस्, बाढीबाट प्रभावित परिवारहरूको पीडा सम्झँदा सबैभन्दा मार्मिक पक्ष यही हो—कसैको सहारा खोसिएको छ, कसैको काख रित्तिएको छ, कसैको परिवार अपूरो बनेको छ, कसैको जीवन प्रतीक्षामै अड्किएको छ, कयौं घरबार विहिन बनेका छन् । सबै थोक गुमाएका परिवारको उजाडिएको भारी मनका बीच आएको चाडपर्वले अतितका सम्झनालाई उजागर गराउँदा पीडा झन बल्झिदिन्छ ।
अझै आफन्तको मृत्यु पुष्टि भएको दुःख एकातिर छ भने प्रियजन फर्किने आशा र अनिश्चितताबीच बाँच्नुपर्ने पीडा अर्कोतिर छ । उनीहरूका लागि हरेक ढोकाको आवाज, हरेक अपरिचित फोन र हरेक नयाँ खबरमा आशा मिसिएको हुन्छ । चाडपर्वको दिन नजिकिँदै गर्दा उनीहरूको प्रतीक्षा अझ गहिरो बन्न सक्छ ।
कतिपय बाबु आमाले अझै आफ्नो सन्तान घर फर्किने बाटो हेरिरहेका होलान् । कुनै सन्तानले आफ्ना अभिभावक फर्किएपछि मात्रै दशैँ मनाउने आशा गरिरहेको होला । यी पीडाहरू समाचारका केही हरफमा सीमित विषय होइनन्, यी त हाम्रो समाजको सामूहिक संवेदनासँग जोडिएका मानवीय यथार्थ हुन् ।
बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि विपत्ति भनेको केवल घर, सडक, पुल, खेतबारी वा भौतिक संरचनाको क्षति मात्र होइन । त्यो उनीहरूको वर्षौँको मेहनत, परिवारको सुरक्षित भविष्य, जीविकोपार्जनको आधार र जीवनप्रतिको भरोसामाथि परेको गहिरो चोट पनि हो । सामान्य नागरिकले दुःख गरेर बनाएको सानो घर उसका लागि इँटा, ढुङ्गा र काठको संरचना मात्र हुँदैन; त्यहाँ उसका जीवनभरका सम्झना, बालबालिकाको बाल्यकाल, परिवारका सपना र पुर्खाको इतिहास जोडिएको हुन्छ ।
जब बाढीको भेलले त्यही घर बगाउँछ, तब घरसँगै मानिसका अनेकौँ सपना पनि बग्छन् । जब खेतबारी नष्ट हुन्छ, तब परिवारको वर्षभरिको अन्न र जीविकोपार्जनको आधार हराउँछ । जब परिवारको कुनै सदस्य विपत्तिमा हराउँछ वा ज्यान गुमाउँछ, तब त्यो परिवारका लागि संसार नै उजाडिएझैँ हुन्छ । यस्तो समयमा आएको चाडपर्वको आगमनले खुसीभन्दा बढी अभाव र बिछोडको अनुभूति गराएको छ ।
विपद्को पीडा भोग्दै गरेकाबखत आएको चाडपर्वले कसैको घरमा दशैँका लागि नयाँ लुगा किन्ने पैसा छैन त कसैको चुलो बाल्ने आधार छैन । कसैले बास गुमाएका छन् भने कसैले परिवारको सहारा । कसैले आफ्ना प्रियजन गुमाएको छ, त कसैले अझै बेपत्ता आफन्त फर्किने आशा त्याग्न सकेको छैन । विपत्तिले निम्त्याएको यस्तो पीडाबीच चाडपर्वको रमझमको कुनै रौनक छैन ।
वर्षभरि दुःख गरेर दशैँमा परिवारका सदस्यहरूलाई एकै ठाउँमा राख्ने सपना देखेका अभिभावकको सपना जब विपत्तिले चकनाचुर पारिदिन्छ, तब उनीहरूको मनमा कस्तो आँधी चल्छ होला ? छोराछोरीलाई मीठो खुवाउने र नयाँ लुगा लगाइदिने चाहना राखेका आमाबुबाले आफैँ बास र गाँसको चिन्ता गर्नुपर्दा कस्तो पीडा महसुस गर्लान् ? यस्ता प्रश्नको उत्तर शब्दले मात्र दिन सक्दैन ।
दशैँ आयो, तर सबैका घरमा खुसी आएन । तिहार, नेपालसम्बत् छठ जस्ता पर्व पनि आउँदैछन् । तर प्राकृतिक प्रकोपको वितण्डताले उजाडिएका घर आँगनमा न त दीपावलीको दीप नै बल्दछ, न त सपरिवारसँगै बसेर सूर्यदेवको आराधना गर्ने अवसर नै जुट्ने छ ।
यी चाडपर्वसँग जोडिएको अर्को उत्तिकै संवेदनशील पक्ष हो—परदेशिएका सन्तानको प्रतीक्षामा रहेका आमाबुबाको अवस्था। रोजगारी, शिक्षा र आर्थिक अवसरको खोजीमा हजारौँ नेपाली विदेशिएका छन्। उनीहरू आफ्ना परिवारको जीवनस्तर उकास्ने सपना बोकेर परदेशमा पसिना बगाइरहेका छन्। तर उनीहरूको अनुपस्थितिले गाउँका घरआँगनमा एउटा छुट्टै रिक्तता सिर्जना गरेको छ ।
दशैँ आउँदा बूढा आमाबुबाका आँखा त्यो पारी देउरालीको ओरालो बाटोतिर हेर्दै लोलाउँछन् । तिहार आउँदा दिदीबहिनीको मनमा दाजुभाइको दीर्घायु, सु–स्वास्थ्य र प्रगतिको कामना जाग्छ । छठ आउँदा परिवारका सदस्यहरू एकै ठाउँमा भेला हुने ती पुराना दिनहरू सम्झनामा फर्किन्छन् । कतिपय सन्तानले बिदा नपाएर घर आउन सक्दैनन्, कतिपयलाई आर्थिक बाध्यताले रोक्छ, त कतिपयका लागि दूरी र परिस्थितिले परिवारसँगको भेट कठिन बनाइदिन्छ ।
आमाबुबाका लागि सन्तानले पठाएको पैसा महत्वपूर्ण हुन्छ, तर उनीहरूको उपस्थितिको मूल्य पैसाले पूरा गर्न सक्दैन । वृद्ध आँखाले खोज्ने कुरा केवल आर्थिक सहयोग होइन; आफ्ना सन्तानको आवाज, आत्मीय स्पर्श र सामीप्यता हो ।
यसो भन्दै गर्दा सन्तानलाई आमाबुबाको माया हुँदैन भन्ने होइन, परदेशमा रहेका सन्तान पनि आफ्ना परिवारको खुसीका लागि आफ्नै रहर त्यागिरहेका हुन्छन् । उनीहरूका लागि पनि चाडपर्व घरको सम्झना र जिम्मेवारीको बोझ बोकेर आउन सक्छ । त्यसैले हरेक नागरिकले आफ्ना परिवारको खुसीका लागि बाध्यतावश परदेशिनुपर्ने अवस्था कम गर्न राज्यले रोजगारी, शिक्षा र उत्पादनमूलक आर्थिक गतिविधिमा प्रभावकारी ध्यान दिनु आवश्यक छ ।
दशैँ , तिहार र छठ हाम्रा सांस्कृतिक सम्पदा हुन् । यी पर्वले हामीलाई परिवारसँग जोड्छन्, सम्बन्धलाई नवीकरण गर्छन् र सामाजिक सद्भावको भावना बलियो बनाउँछन् । तर हाम्रा पर्वहरू केवल व्यक्तिगत खुसी, उपभोग र तडकभडकमा सीमित हुनु हुँदैन ।
यद्यपि, यस वर्षको दशैँको टीका लगाउँदा आशीर्वादसँगै सहानुभूति पनि बाँडौँ । तिहारमा दीप बाल्दा विपत्तिमा परेका परिवारको जीवनमा आशाको उज्यालो पुर्याउने प्रयास गरौँ । छठमा सूर्यलाई अघ्र्य दिँदा प्रकृतिको संरक्षण र मानव जीवनको सुरक्षाप्रतिको जिम्मेवारी पनि सम्झौँ ।
नजिकिँदै गरेको दशैँ, तिहार र छठ पर्वले हामीलाई उत्सव मनाउने अवसर मात्रै दिएको छैन, यी पर्वले त हाम्रो सामाजिक चेतना र मानवीय जिम्मेवारीको परीक्षा पनि लिएका छन् । एकातिर घरआँगनमा रौनक छाएको छ, बजारमा चहलपहल बढ्दो छ, परदेशिएका कतिपयका सन्तान फर्किएका छन् त कोही सन्तानको पर्खाइमा बाटोहेरी बसेका छन् । अर्कोतिर बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको पीडा, गुमाएका आफन्तको सम्झना, उजाडिएका घर र अनिश्चित् भविष्यको चिन्तामा रुमलिएका छन् ।
यस्तो अवस्थामा हाम्रो खुसी अरूको पीडाप्रति उदासीन बन्नु हुँदैन । आफ्नो घरमा दशैँ मनाउँदै गर्दा घरबारविहीन बनेका परिवारलाई सम्झौँ । तिहारको दीपावलीमा रमाउँदै गर्दा प्रियजन गुमाएका परिवारको आँसु देखौँ । छठको आस्था र उल्लासमा सहभागी हुँदै गर्दा जीवनको आधार गुमाएका नागरिकलाई पुनः उठ्न सहयोग गरौँ ।
राज्यले आफ्नो दायित्व पूरा गरोस्, समाजले संवेदनशीलता देखाओस् र नागरिकले मानवीय सहयोगको हात बढाउन् । राहत, पुनःस्थापना, सुरक्षित आवास, शिक्षा र जीविकोपार्जनका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन होउन् । कुनै पनि पीडित परिवार केवल आश्वासनको भरमा बस्नुनपरोस्; ती पीडितहरूले वास्तविक सहयोग र न्यायको अनुभूति गर्न सकून् । फेरि आशा पलाओस् । रित्तिएका आँगनमा सम्भव भएसम्म नयाँ खुसी फर्कियोस् । पीडितले न्याय र सहारा पाउन् । बेपत्ता आफन्तको प्रतीक्षामा रहेका परिवारले यथाशीघ्र सत्य र आवश्यक सहयोग पाउन् । परदेशिएका सन्तान र घरमा प्रतीक्षारत आमाबुबाबीचको आत्मीयता अझ बलियो बनोस् ।
दशैँको साँचो विजय त्यतिबेला हुन्छ, जब हामी आफ्नै खुसीमा मात्र होइन, अरूको दुःखमा मलम बन्न पनि आफ्नो मानवीयता देखाउन सक्छौँ । दशैँ सबैका लागि आओस्—कसैका लागि मात्र होइन । दशैँको रातो अक्षता र जमरा टीकाले सम्बन्ध जोडोस्, तिहारको दीपले अँध्यारो हटाओस् र छठको सूर्यले नयाँ आशाको सन्देश दिन सकोस् । यसपालिको कामना यही हो—कसैको पीडा उपेक्षित नहोस्, कसैको दुःख एक्लो नबनोस् र खुसी केही घरको सीमाभित्र मात्र कैद नभई सम्पूर्ण समाजमा फैलियोस् ।




