लस एन्जलस, असोज १३ गते । अमेरिकी अन्तरिक्ष निकाय नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि ‘स्टारलाइनर–१’ को मानवरहित परीक्षण उडान यसै वर्षको डिसेम्बर वा सन् २०२७ को जनवरीदेखि गर्न सकिने जनाएको छ । त्यसपछि ‘स्टारलाइनर–२’ मार्फत सन् २०२८ मा अन्तरिक्षयात्री पठाउने लक्ष्य राखिएको छ ।


नासाले स्टारलाइनरका पाँचौँ र छैटौँ उडानका विकल्पसमेत अघि बढाउने योजना सार्वजनिक गरेको छ । साथै, ‘एटलस–भी’ रकेटको अन्तिम उडानपछि स्टारलाइनरलाई मानवसहित अन्तरिक्षमा पठाउन भल्कन रकेट प्रमाणित गर्न बोइङ र युनाइटेड लन्च एलायन्ससँग सहकार्य गर्ने जनाएको छ ।


नासाका अनुसार स्टारलाइनर–१ को मुख्य उद्देश्य अन्तरिक्षयानमा गरिएका सुधारहरूको प्राविधिक मूल्याङ्कन गर्नु, तापीय वातावरणमा भएको सुधारको परीक्षण गर्नु, प्रणाली प्रमाणीकरणका लागि आवश्यक कार्यसम्पादनसम्बन्धी तथ्याङ्क संकलन गर्नु तथा मानवसहितको आगामी उडानअघि बाँकी जोखिम पहिचान गर्नु हो ।

नासा प्रशासक जेरेड आइज्याकम्यानले स्टारलाइनर–१ बाट प्राप्त तथ्याङ्कका आधारमा कार्यक्रम अनुसन्धान टोलीले पहिचान गरेका सुधारात्मक कदमहरू कार्यान्वयन गरिने बताउनुभयो । मानवसहितको उडानका लागि आवश्यक परीक्षण र प्रमाणीकरण पूरा गरेपछि सन् २०२८ मा स्टारलाइनर–२ मार्फत अन्तरिक्षयात्रीलाई अन्तरिक्षमा पठाउने हालको योजना रहेको उहाँले बताउनुभयो ।


बोइङको स्टारलाइनरले जुन २०२४ मा पहिलो मानवसहितको परीक्षण उडान गरेको थियो । त्यसमा नासा अन्तरिक्षयात्री बुच विलमोर र सुनी विलियम्स सवार थिए । स्टारलाइनर अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा सफलतापूर्वक जोडिए पनि उडानका क्रममा केही नियन्त्रण थ्रस्टरले अपेक्षाअनुसार काम नगरेका थिए र हिलियम ग्यास चुहावटसमेत देखिएको थियो ।
त्यसपछि नासाले स्टारलाइनरलाई अन्तरिक्षयात्रीबिना पृथ्वीमा फर्काउने निर्णय गरेको थियो । विलमोर र विलियम्स भने पछि स्पेसएक्स ड्रागन यानमार्फत मार्च २०२५ मा पृथ्वी फर्किएका थिए ।

नासाले गत फेब्रुअरीमा २०२४ को मानवसहितको परीक्षण उडानबारे आफ्नो कार्यक्रम अनुसन्धान टोलीको निष्कर्ष सार्वजनिक गरेको थियो । टोलीले नासाका लागि ६१ वटा सिफारिस गरेको थियो ।


ती निष्कर्षका आधारमा बोइङले स्टारलाइनरको सेवा मोड्युलमा तापीय सुधार गरेको छ, जसको मूल्याङ्कन स्टारलाइनर–१ मा गरिनेछ । नासा र बोइङले भविष्यका मानवसहितका उडानलाई प्रमाणीकरण गर्न थ्रस्टर भल्भको डिजाइनमा थप सुधार गर्ने निर्णय पनि गरेका छन् ।


स्टारलाइनर–१ पछि सेवा मोड्युलको थ्रस्टर भल्भ डिजाइन सुधार पूरा गरिने नासाले जनाएको छ । बोइङले चालकदल मोड्युलमा नयाँ थ्रस्टर र ब्याट्री जडान गर्नुका साथै कार्यसम्पादन र विश्वसनीयता सुधार गर्न प्यारासुट प्रणालीमा समेत केही परिवर्तन गर्नेछ ।