काठमाडौँ, असोज ८ गते । पूर्वाधार विकास मन्त्रालयले देशभर फुटबल, क्रिकेट र इन्डोर खेलकुदका २८ वटा पूर्वाधार निर्माण तथा स्तरोन्नति गर्ने भएको छ । खेलकुद पूर्वाधार निर्माण, सहजीकरण, स्वामित्व हस्तान्तरण तथा सञ्चालनलाई व्यवस्थित बनाउन पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच आज सोसम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहरा र राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रामचरित्र मेहताले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार पूर्वाधार विकास मन्त्रालयले खेलकुद पूर्वाधार निर्माणसम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्नेछ भने निर्माण सम्पन्न भएका पूर्वाधारको सञ्चालन राष्ट्रिय खेलकुद परिषद्ले गर्नेछ ।

पूर्वाधारको स्वामित्व हस्तान्तरण र सञ्चालनको स्पष्ट ढाँचा नहुँदा विगतमा निर्माण भएका कतिपय खेलकुद पूर्वाधार प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै परिषद्सँग आवश्यक समन्वय गरेर खेलकुद पूर्वाधार निर्माणको काम अघि बढाउन लागिएको हो ।

फुटबलका लागि देशका मुख्य १० सहरमा नयाँ निर्माण तथा स्तरोन्नतिमार्फत रङगशाला विकास गरिने पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । त्यस्तै, प्रत्येक प्रदेशबाट फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा सहभागी हुने टोलीलाई सहयोग पुग्ने गरी आठ हजार दर्शक क्षमताका फ्लडलाइटसहितका क्रिकेट पूर्वाधार निर्माण गरिनेछन् । प्रत्येक प्रदेशमा भलिबल, बास्केटबल, कबड्डीलगायत ‘फ्रेन्चाइज इभेन्ट’ सञ्चालन गर्न सकिने बहुउद्देश्यीय इन्डोर स्टेडियम निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।

फुटबलतर्फ झापाको भद्रपुरस्थित मेची रङ्गशाला, झापाकै आदिवासी जनजाति रङ्गशाला, पर्साको वीरगञ्जस्थित नारायणी रङ्गशाला, चितवन रङ्गशाला, बाँकेको नेपालगञ्ज रङ्गशाला, सुर्खेत रङ्गशाला, कैलालीको धनगढी रङ्गशाला, काठमाडौँको दशरथ रङ्गशाला, कास्कीको पोखरा रङ्गशाला, रुपन्देहीको बुटवल एन्फा कम्प्लेक्स, मोरङको शहीद रङ्गशाला, सुनसरीको धरान रङ्गशाला र बाँकेको कोहलपुर फुटबल रङ्गशालाको निर्माण तथा स्तरोन्नति गरिनेछ ।

क्रिकेटतर्फ जनकपुरस्थित रामजानकी, विराटनगरस्थित बैजनाथपुर रङ्गशाला, बाँकेको कोहलपुरस्थित सहिद सुलभ अन्तरराष्ट्रिय, सुर्खेतस्थित चाँदनीचोक, धनगढीस्थित फाप्ला रङ्गशाला, काठमाडौँस्थित तल्लो मूलपानी, कास्कीस्थित पोखरा रङ्गशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशालाको निर्माण तथा स्तरोन्नति गरिनेछ ।

भलिबल, बास्केटबल, कबड्डीलगायता इन्डोर खेलका फ्रेन्चाइज प्रतियोगिता सञ्चालन गर्न सकिने गरी सातै प्रदेशमा बहुउद्देश्यीय इन्डोर स्टेडियम निर्माण गरिनेछ । लुम्बिनीमा बुटवल, गण्डकीमा पोखरा, मधेसमा सिरहाको लहान, कोशीमा मोरङको विराटनगर, कर्णालीमा कर्णाली प्रदेश रङ्गशाला, सुदूरपश्चिममा फाप्ला खेलग्राम र बागमती प्रदेशमा काठमाडौँमा बहुउद्देश्यीय इन्डोर स्टेडियम निर्माण गरिने पूर्वाधार विकास मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

देशका मुख्य सहर र प्रत्येक प्रदेशलाई लक्षित गरेर तयार गर्न लागिएको खेलकुद पूर्वाधारले नेपालको व्यावसायिक खेलकुदको विकासमा ठोस योगदान गर्ने लक्ष्य सरकारले राखेको छ ।