भक्तपुर, असोज ८ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माणमा सघाउन स्थानीय सरकालाई आग्रह गर्नुभएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा उहाँले बागमती प्रदेश भित्रका र देशभरका स्थानीय तहलाई पुनर्निर्माणमा सघाउन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “रसुवाको भोटेकोशी बाढीबाट विद्यालय भवन, स्वास्थ्य संस्था, पुलहरू क्षति भएका छन्, अत्यावश्यक संरचनाहरू छिटो बनाउन पालिकादेखि स्थानीय बासिन्दाले हामीलाई आग्रह गरिरहनुभएको छ, हामीसँग पर्याप्त बजेट छैन, त्यसैले सबै पालिकाले मिलेर सक्ने जति सहयोग गरौँ, पालिकाहरू मिलेर विद्यालय भवन, स्वास्थ्य संस्थादेखि पुल र झोलुङ्गे पुल निर्माणमा सघाउनुहोस् ।”

सङ्घीय सरकारको राहत कोषमा रकम जम्मा भएर बसे पनि अत्यावश्यक संरचनाहरू तत्काल पुनर्निर्माण गर्नुपर्ने अवस्था आएको तर सङ्घीय सरकारबाट प्रक्रिया ढिलो हुने भएकाले पालिकाहरूले आफूले सके जति सहयोग गरेर पुनर्निर्माणमा जुट्न आग्रह गर्नुभयो ।

भक्तपुरलाई स्वास्थ्य, शिक्षा र पर्यटनको हब बनाउने उद्देश्यले आफूले काम गर्न लागेको बताउँदै उहाँले भक्तपुरवासीले कुनै पनि रोगको उपचारका लागि भक्तपुर छाडेर अन्यत्र जानु नपर्ने र स्नातकोत्तरसम्म सबै सङ्कायको भक्तपुरमा अध्ययनअध्यापन गराउन पाउने अवस्था सिर्जना गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री थापामगरले चाँगुनारायणमा धेरै नै सार्वजनिक जग्गा रहेकाले यहाँका वडा नं १ देखि ९ सम्म ल्याण्ड पुलिङको माध्यमबाट छरिएर रहेका सार्वजनिक जग्गालाई एकीकृत गरि औद्योगिक ग्राम, रङ्गशालाजस्ता विकासमा संरचनाहरू निर्माण गर्न प्रदेश सरकार लागेको बताउनुभयो । प्रदेशको १३ वटै जिल्लाको विकास र समृद्धिको अभियान प्रदेश सरकारले सुरु गरिसकेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकीले भोटेकोशी बाढीमा क्षतिग्रस्त संरचना पुनर्निर्माणमा नगरपालिकाले सघाउने बताउँदै नगरपालिकाको थप विकासका लागि प्रदेश सरकारले सहयोग गर्न आग्रह गर्नुभयो ।