काठमाडौँ, असोज ८ गते । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा शैक्षिक सत्र २०७६/७७ देखि सञ्चालन भएको चिकित्सा शिक्षा स्नातक तहको एमबिबिएस उत्तीर्ण भएपश्चात् इन्टर्नसिप पूरा गरेका नवौँ ब्याचका नवदीक्षित ८५ जना चिकित्सकलाई आज प्रधान सेनापति अशोकराज सिग्देलले प्रमाणपत्र प्रदान गर्नुभएको छ ।
प्रधान सेनापतिले स्वास्थ्य क्षेत्रमा सेवारत रहँदा सदाझैँ मर्यादित र नैतिक धरातलमा रही समाज, राष्ट्र र समग्रमा मानव सेवामा समर्पित भई कार्य गर्न सुझाव दिँदै दीक्षित चिकित्सकहरूलाई बधाई तथा शुभकामना पनि व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थानका कार्यकारी निर्देशक डा भैरवकुमार हमालसहित रथीवृन्द, प्राध्यापक तथा प्राचार्य, सैनिक अधिकृत, कर्मचारी, नवदीक्षित चिकित्सक तथा परिवारजनको पनि उपस्थिति थियो ।
नेपाली सेनाले स्वास्थ्य शिक्षामार्फत स्वास्थ्य सेवामा टेवा पुर्याउने पवित्र उद्देश्यका साथ २०६८ सालमा स्थापना गरेको उक्त संस्थानबाट हालसम्म ९४४ जना चिकित्सकहरू दीक्षित भएका छन् ।




