काठमाडौँ, असोज ८ गते । सरकारले विपद्सम्बन्धी कार्यलाई व्यवस्थित गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने भएको छ । यसका लागि गृह मन्त्रालयले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ को मस्यौदा तयार पारेको छ । गम्भीर प्रकृतिको विपद्बाट मृत्यु भएका व्यक्तिको शव खोजतलास, भण्डारण तथा परिवारलाई हस्तान्तरण, बेपत्ता हुनेको परिवारलाई उपलब्ध गराउनुपर्ने न्यूनतम राहत र बेपत्ता भएका व्यक्ति फेला नपरेमा मृत्युको न्यायिक घोषणालगायत व्यवस्थाका लागि विधेयक तयार पारिएको हो ।
मन्त्रालयले हाल सो विधेयकका सम्बन्धमा विधायन ऐन, २०८१ बमोजिम सूचना प्रकाशित गरी सर्वसाधारणको राय माग गरेको छ । सूचना प्रकाशन भएको सात दिनभित्रमा ‘इमेल’ गरी सुझाव उपलब्ध गराउन गृह मन्त्रालयले आग्रह गरेको छ ।




