काठमाडौँ, भदौ १४ गते । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको अचानकको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये हालसम्म रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रबाट दुई हजार ७१५ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार बाढीमा परी घाइते भएकामध्ये विभिन्न स्थानबाट उद्धार गरिएका केहीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत र उपचारपछि ‘डिस्चार्ज’ भएका गरी हालसम्म १६० जना रहेका उहाँले जानकारी दिनुभयो ।

बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका केही कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भएकामध्ये नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बल, नेपालका १३ जना कर्मचारी रहेका प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले बताउनुभयो ।

बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएकाको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाललगायत सम्बन्धित निकायका सुरक्षाकर्मी तथा उद्धार टोलीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेका छन् । बाढीका कारण प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलनसँगै सम्पर्कविहीनको खोजी र उद्धारलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ ।

यसैबीच, विभिन्न जिल्लाबाट आज दिउँसो २ः०० बजेसम्म ७६८ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ५०, तनहुँमा ३७, नुवाकोटमा ५२, गोरखामा ५८, चितवनमा २६४, नवलपरासी पूर्वमा १९४ र नवलपरासी पश्चिममा १०० जनाको शव फेला परेको हो ।

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन
भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट एक हजार ३२१ जना सम्पर्कविहीन भएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति नुवाकोटका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले आज उक्त तथ्याङ्क सार्वजनिक गर्दै नुवाकोट र रसुवाबाट हालसम्म दुई हजार ४५६ जनाको उद्धार गरिएको जानकारी दिनुभयो ।

उद्धार गरिएकामध्ये दुई हजार २२५ जना नेपालीसहित र २३१ बाँकी विदेशी रहेका छन् । त्यसैगरी ६४ जनाको शव सङ्कलन गरिएको उहाँले बताउनुभयो । “उद्धार गरिएकामा ५८ जना घाइते छन्”, उहाँले भन्नुभयो, “घाइतेको अवस्था हेरेर उपचारका लागि सोहीअनुसारका स्वास्थ्य संस्थामा पठाइएको छ ।” सम्पर्कविहीन हुनेमा एक हजार १०९ नेपाली छन् भने १५७ जना विदेशी छन् । त्यसैगरी पहिचान नखुलेका ५५ जना रहेका उहाँले जानकारी दिनुभयो ।

खोज तथा उद्धारमा माथिल्लो त्रिशूली थ्री ‘ए’ मा सुरक्षाकर्मी र विद्युत् प्राधिकरणका कर्मचारी गरी ८४ जना खटिरहेका प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो । त्यसैगरी थ्री ‘बी’ मा रेकी भई खोज तथा उद्धार भइरहेको विपद् व्यवस्थापन समितिले जनाएको छ । थ्री ‘ए’ को सुरुङभित्र फसेको भनिएकाको उद्धारका लागि सुरुङ भएको स्थान पहिचानको प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो, “आवश्यक यन्त्र तथा प्रविधि प्रयोग गरी उद्धार गर्ने प्रयास भइरहेको छ ।”

प्रजिअ रेग्मीले उद्धारको काम निरन्तर भइरहेको बताउँदै अहिले शव व्यवस्थापनलाई पनि प्राथमिकता दिन थालिएको बताउनुभयो । शव खोज तथा उद्धारका लागि ६०० सुरक्षाकर्मीको संयुक्त टोलीसहित हेलिकप्टर र तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ । त्यसका लागि त्रिशूली नदी वारी र पारी गरेर ३० स्थानलाई मुख्य आधार क्षेत्र तय गरिएको छ ।

बाढीका कारण अवरुद्ध बनेका यस क्षेत्रका सडक सञ्चालनका लागि धमाधम काम भइरहेको प्रजिअ रेग्मीले बताउनुभयो । उहाँका अनुसार गल्छी–देवीघाट सडक सञ्चालन गर्न ठूलो खोलास्थित क्षतिग्रस्त पक्की पुल मर्मत भइरहेको छ भने देवीघाटमा बेलिब्रिज जडान कार्य अघि बढाइएको छ ।

त्यसैगरी, ढुङ्गे बजारक्षेत्रको अवरुद्ध सडक खुलाउन डोजर परिचालन गरिएको छ । ढुङ्गे र त्रिशूली बजार जोड्नका लागि तत्काललाई तुइन जडान प्रारम्भ गरिएको छ । “तुइन जडानका लागि लठ्ठा आइसकेको छ”, प्रजिअ रेग्मीले भन्नुभयो, “तत्काल तुइनबाटै भए पनि वारपार गर्न वैकल्पिक मार्ग प्रयोग गर्नेगरी प्रयास गरिएको छ ।”

बाढी प्रभावितका लागि राहत सामग्री वितरणमा एकद्वार प्रणाली अपनाइएको छ । हालसम्म १४० सङ्घसंस्थाले राहत सामग्री उपलब्ध गराएका प्रजिअ रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार प्राप्त राहत सामग्री गोदाम हलमा सङ्कलन गरी आवश्यकताका आधारमा होल्डिङ सेन्टरमा गाडी र हेलिकप्टरमार्फत ढुवानी भइरहेको छ ।

बाढीग्रस्त क्षेत्रबाट उद्धार गरिएकालाई गाँसबासको व्यवस्था गर्न सञ्चालन गरिएका होल्डिङ सेन्टरको सङ्ख्यासमेत वृद्धि भएको छ । शनिबारसम्म १३ वटा होल्डिङ सेन्टर सञ्चालन गरिएकामा हाल यो सङ्ख्या १७ बनाइएको उहाँले बताउनुभयो । होल्डिङ सेन्टरमा दुई हजार ४०३ जना बसिरहेका छन् ।