गोरखा,भदौ १४ गते । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र पृथ्वीराजमार्गको चरौँदी जोड्ने झोलुङ्गे पुल बगाएको छ । बाढीले लगातार तीन घण्टा हानेपछि बिहान ११:३० बजेतिर पुल ढलाएर बगाएको स्थानीय विनोद नहर्कीले जानकारी दिनुभयो ।
पुल लगेपछि गण्डकी गाउँपालिका ७ र ८ का बासिन्दा त्रिशूली तरेर राजमार्गतर्फ जान समस्या भएको छ । “घ्याल्चोकका करिब ४०० घरधुरी किसानले तरकारी र दूध बोकेर चरौँदीको कृषि सहकारीमा लैजाने मुख्य बाटो हो”, उहाँले भन्नुभयो, “अब यहाँका किसानले तरकारी र दूध बेच्न नपाउने भए ।”
यसअघि गत भदौ १० गते बुधबार आएको बाढीले यसभन्दा केही तल रहेको धवादीघाटको पुल लगेको थियो । सो पुल लगेपछि स्थानीयवासी घ्याल्चोकको पुल भएर वारपार गर्ने गरेका थिए । यो पुल लगेपछि स्थानीयवासीलाई समस्या भएको अर्का स्थानीय विजय रूपखेती बताउनुहुन्छ ।
घ्याल्चोक–चरौँदी जोड्ने १३० मिटर लामो पुल छ वर्षअघि मात्र निर्माण भएको स्थानीयको भनाइ छ । योसँगै त्रिशूलीको बाढीले गोरखामा तीन वटा झोलुङ्गे पुल बगाएको छ भने एउटा पुल पूर्णरूपमा क्षति भएको छ ।




