काठमाडौँ, साउन २७ गते । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिले देशभर सञ्चालनमा रहेका बाल सुधार गृहको भौतिक पूर्वाधार, क्षमता, जनशक्ति तथा बालबालिकाको अवस्था समेटिएको विस्तृत प्रतिवेदन ४५ कार्यदिनभित्र पेस गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।
सिंहदरबारस्थित समितिमा आज भएको बैठकले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई अन्य सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय गरी उक्त प्रतिवेदन तयार गर्न निर्देशन दिएको हो । बैठकले मुलुकभर सञ्चालित बाल सुधार गृहमा रहेको भौतिक पूर्वाधारको अवस्था, स्वीकृत क्षमता र वास्तविक सङ्ख्या, क्षमताभन्दा बढी बालबालिका राखिएको अवस्था तथा उमेर र कसुरको प्रकृतिअनुसार उपयुक्त व्यवस्थापन भए–नभएको स्पष्ट पार्न भनेको छ ।
साथै आवास तथा सरसफाइ, खानपान तथा पोषण, स्वास्थ्य सेवा, शिक्षा, मनोसामाजिक परामर्श, खेलकुद, सीप विकास, मनोरञ्जन, सुरक्षा व्यवस्था, बालमैत्री वातावरण तथा सुधार र पुनःस्थापनाका कार्यक्रमको अवस्थासमेत प्रतिवेदनमा समेट्न निर्देशन दिइएको छ । यसअघि समितिको स्थलगत अनुगमनबाट समेत कतिपय बाल सुधार गृहमा क्षमताभन्दा बढी बालबालिका राखिएको, भौतिक पूर्वाधार अपर्याप्त रहेको तथा व्यवस्थापनमा समस्या देखिएकाले सुधारका लागि समितिले अग्रसरता लिएको हो ।
बाल सुधारगृहको भौतिक पूर्वाधार र मानव संसाधनको विस्तृत अवस्था, देखिएका समस्या, सुधार गर्नुपर्ने क्षेत्र तथा आवश्यक कार्ययोजनासहितको प्रतिवेदन समितिसमक्ष पेस गर्न भनिएको छ । समितिका सभापति आकृति अवस्थीको सभापतित्वमा भएको उक्त बैठकले सो मन्त्रालयलाई नेपाल सरकारको मातहतमा रहेका तथा निजी एवं सङ्घसंस्थाबाट सञ्चालित बाल गृह, वृद्धाश्रम र महिला सुरक्षित आवास गृहको तथ्याङ्क सङ्कलन गर्न सुझाव दिएको छ ।




