काठमाडौँ, साउन २७ गते । राष्ट्रिय मानव अधिकार आयोगले तीन तहका सरकारले नै युवाका अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा आयोगले युवाको विचार सुन्न, उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउन तथा सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा अवसर सुनिश्चित गर्न आग्रह गरेको हो ।
नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, राजनीतिक दल, शैक्षिक संस्था, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालसम्बद्ध निकाय र संस्थाहरुलाईआयोगले युवाको सुरक्षित, सम्मान र अर्थपूर्ण सहभागिताको वातावरण सुनिश्चित गर्न पनि गराउन आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “युवाविरुद्ध हुने अनलाइन तथा प्रत्यक्ष धम्की, हिंसा, भेदभाव र दमनका घटनाको निष्पक्ष अनुसन्धान गरी पीडितलाई प्रभावकारी संरक्षण र न्याय उपलब्ध गराउन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ ।”
मानव अधिकारसम्बन्धी अन्तरराष्ट्रिय कानुन तथा नेपालका कानुनहरुमा युवाको अधिकार सुनिश्चितताका लागि केही व्यवस्था गरिएका भए तापनि युवाले सामाजिक सञ्जाल तथा सार्वजनिकस्थलमा विचार व्यक्त गर्दा धम्की, दुव्र्यवहार, घृणात्मक अभिव्यक्ति, अनलाइन हिंसा, अनावश्यक निगरानी वा अनुचित कानुनी कारबाहीको जोखिम सामना गर्नुपरेका गुनासा आयोगमा प्राप्त भएको जनाइएको छ ।
“सार्वजनिक नीति निर्माणमा युवाको अर्थपूर्ण सहभागिता कमजोर हुँदा अन्तरपुस्तागत ज्ञान र सीपको हस्तान्तरण प्रभावकारी हुन सक्दैन, युवाका लागि पर्याप्त र मर्यादित रोजगारीका अवसर सिर्जना हुन नसक्नु तथा देशको समग्र विकासमा उनीहरूको ज्ञान, सीप र ऊर्जाको प्रभावकारी परिचालन नहुनु चिन्ताको विषय बनेको छ”, आयोगले भनेको छ, “युवाको आवाजलाई सम्मान गर्नु लोकतान्त्रिक समाजको आधार हो ।”
हरेक युवाको स्वतन्त्रपूर्वक अभिव्यक्ति दिने, शान्तिपूर्ण सभा र सङ्गठन गर्ने अधिकार रहेको जनाउँदै आयोगले आलोचनात्मक चेत वा फरक मत राखेकै आधारमा उनीहरुको अधिकारमाथि अनुचित बन्देज लगाइनु नहुने विषय स्पष्ट पारेको छ ।
अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइने कुनै पनि सीमा संविधान, कानुन र अन्तरराष्ट्रिय मानव अधिकारका मापदण्डअनुकूल, आवश्यक तथा समानुपातिक हुनुपर्ने आयोगको भनाइ छ ।
युवालाई जिम्मेवार, शान्तिपूर्ण र तथ्यमा आधारित ढङ्गले आफ्नो विचार व्यक्त गर्न तथा मानव अधिकार र लोकतान्त्रिक मूल्यको प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्नु राज्यको जिम्मेवारभित्र पर्ने आयोगको भनाइ छ
सन् १९९८ मा पोर्चुगलको लिस्बनमा आयोजित युवासम्बन्धी विश्व सम्मेलनले १२ अगस्टलाई अन्तरराष्ट्रिय युवा दिवसका रूपमा मनाउन सिफारिस गरेको थियो । उक्त सिफारिसलाई संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९९ मा अनुमोदन गरेपछि सन् २००० देखि यो दिवस विश्वभर मनाउन थालिएको हो ।




