विराटनगर, साउन २७ गते । कोशी प्रदेश प्रहरी कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा २७ हजार ६९३ केजी लागुऔषध गाँजा बरामद गरेको छ । कार्यालयबाट प्राप्त जानकारी अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १० हजार ४२० किलोग्राम र आर्थिक वर्ष २०८१/८२ मा २६ हजार ७०५ केजी गाँजा बरामद गरेको थियो ।

त्यस कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा चरेश १४५ ग्राम १४० मिलिग्राम तथा अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ८६ ग्राम १८० मिलिग्राम बरामद कारवाही र अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । उक्त कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा अफिम तीन ग्राम ५८८ मिलिग्राम र आर्थिक वर्ष २०८१/८२ मा १५ ग्राम ५८८ मिलिग्राम अफिम पक्राउ गरेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा ब्राउन सुगर १० केजी ३८७ ग्राम ५३१ मिलिग्राम, आर्थिक वर्ष २०८०/८१ मा तीन केजी ८८९ ग्राम ३४९ मिलिग्राम र आर्थिक वर्ष २०८१/८२ मा पाँच केजी ४८९ ग्राम ८९८ मिलिग्राम पक्राउ गरेको बताइएको छ ।

कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसारमा विभिन्न मनोद्विपक चक्की आर्थिक वर्ष २०८२/८३ मा सात लाख ४४ हजार ४५७ थान बरामद गरिएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ७८ हजार ३३८ थान र आर्थिक वर्ष २०८१/८२ मा छ लाख १५ हजार ७९ थान तथा विभिन्न मनोद्विपक सुई आर्थिक वर्ष २०८२/८३ मा २० हजार ४९ थान, आर्थिक वर्ष २०८०/८१ मा सात हजार ५८७ थान बरामद भएको उक्त कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा दुई हजार ६५४ थान तथा विभित्र मनोद्विपक औषधितर्फ आर्थिक वर्ष २०८२/८३ मा ४०, आर्थिक वर्ष २०८०/८१ मा ३३६ र आर्थिक वर्ष २०८१/८२ मा १०९ थान पक्राउ गरी कारबाही चलाइएको छ । कार्यालयले कोशी प्रदेशको विभिन्न जिल्लामा एक हजार ३९४ रोपनी जग्गामा लगाइएको दुई लाख ६४ हजार ८३० वटा गाँजाका बिरुवा पनि नष्ट गरेको जनाइएको छ ।

यस्तै, आर्थिक वर्ष २०८२/८३ मा हातहतियार बरामद मुद्दा ३२ वटा दर्ता भई ४५ जना मानिस पक्राउ र ५५ थान हतियार बरामद गरेको प्रहरीले जनाएको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ३० वटा विभिन्न मुद्दा दर्ता भई ४३ जना मानिस पक्राउ र ४४ थान हतियार बरामद गरिएको थियो । आर्थिक वर्ष २०८१/८२ मा ३८ वटा मुद्दा दर्ता भई ५५ जना पक्राउ र ५० थान हतियार बरामद भएको प्रवक्ता थापाले बताउनुभयो ।