काठमाडौँ, साउन २२ गते । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १:०० बजे बस्ने भएको हो ।
संसद सचिवालयले प्रकाशित गरेकोे कार्यसूची अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन २०४२ को साविकको व्यवस्था जनाउने सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन -२०८३’ पेश गर्ने कार्यसूची रहेको छ ।
यसैगरी प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी (पहिलो संशोधन) विधेयक- २०८३’ लाई बैठकमा प्रस्तावको रुपमा प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ ।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्नुहुनेछ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ बैठकमा प्रस्तुत गर्नुहुनेछ ।
त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।





