काठमाडौँ, साउन २१ गते । प्रतिनिधिसभा अन्तर्गत रहेका सानो संसद्को रुपमा हेरिने विषयगत विभिन्न पाँचवटा संसदीय समितिहरुको बैठक आज बस्दैछन् । संसद् सचिवालयले जनाएअनुसार आज अर्थ, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्दैछ ।

अर्थ समितिको बैठक बिहान ११:०० बजे बस्ने छ भने सो बैठकमा उपसमितिको प्रतिवेदन प्रस्तुत गरी छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी बिहान ११:०० बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा ‘मुस्लिम आयोगको काम कारबाही तथा प्रगति सम्बन्धमा आयोगका पदाधिकारीसँग छलफल’ गर्ने कार्यसूची छ ।

सचिवालयका अनुसार अपराह्न १:०० बजे राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठक बस्दैछन् । राज्य व्यवस्था तथा सुशासन समिति ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ हुने कार्यसूची छ भने सोही बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कारागार कार्यालयहरूको स्थलगत अनुगमन प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।

यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, चुनौती र भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

आजै अपरान्ह २:३० बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा मुलुकको वर्तमान अवस्था र समसामयिक विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।