काठमाडौँ, साउन १९ गते । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि काम गरिरहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयमा आज आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) को बैठकमा बोल्दै मन्त्री खनालले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि मन्त्रालयका विभिन्न महाशाखाले काम गरिरहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले भन्नुभयो, “द्विपक्षीय रणनीतिलाई बलियो बनाउने गरी काम भइरहेको छ । उक्त रणनीतिमार्फत नेपालले सम्बन्धित मुलुकबाट कसरी अधिकतम लाभ लिन सक्छ भन्ने हिसाबले काम गर्नेछौँ ” भन्नुभयो ।

सो क्रममा मन्त्री खनालले मन्त्रालयले सम्बन्धित मुलुकसँग निश्चित प्राथमिकताका क्षेत्र पहिचान गरी त्यसलाई केन्द्रमा राखेर रणनीतिक योजनामा काम गरिरहेको बताउनुभएको थियोृ ।

परराष्ट्रमन्त्री खनालले विदेशमा बसोबास गर्ने नेपालीको यकिन सङ्ख्या उपलब्ध नहुँदा नीति तथा योजना निर्माण र कार्यान्वयनमा कठिनाइ भइरहेको उल्लेख गर्नुभयो । त्यसका लागि अभियान सञ्चालन गरेर विदेशमा रहेका नेपालीको सङ्ख्या यकिन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

मन्त्रालयमा आयोजित उक्त बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्ट, परराष्ट्र सचिव अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा विभिन्न मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति थियो ।