काठमाडौँ, साउन १९ गते । प्रतिनिधिसभाका सांसदहरूले तराई मधेसका जिल्लामा पानी नपरेर समस्या भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद चन्द्रमोहन यादवले तराई मधेसमा महिनौँदेखि वर्षा नभएको बताउँदै साउन सकिन लाग्दा पनि खेत बाँझै रहेको सुनाउनुभयो ।

सांसद जगतप्रसाद जोशीले भारतले नेपालको सहमतिविना निर्माण गरेको बाँधका कारण नेपाली भूमि डुबानमा परेको उल्लेख गर्दै कैलाशपुरीमा यस्तै भएको बताउनुभयो । सांसद जगदीश खरेल (ललितपुर) ले सुनसरी र सिराहको घटनामा सरकारले सुझबुझ समाधान गरेको, यस विषयमा विपक्षी दलले पनि साथ दिएको बताउनुभयो ।

सांसद जनकराज गिरीले सांसदले उठाएका विषयको काम के भयो भनी प्रश्न गर्नुभयो । सांसद जनकसिंह धामीले बेलौरी भन्सार स्तरोन्नति गर्न, सामाजिक सद्भाव कायम राख्न, जग्गाा नभएकालाई पुर्जा दिनुपर्ने माग गर्नुभयो ।

सांसद जयपति रोकायाले हुम्लामा बाढीले जनश्रमदानबाट निर्माण भएको पुल र बाटो बगाएकाले बस्तीलाई सुरक्षित स्थलमा स्थानान्तरण गर्न माग गर्नुभयो । सांसद झवीलाल डुम्रेले असार ३२ गते गल्याङ नगरपालिका–६ मा धनबहादुर थापाले गोठ भत्केर जीवन गुमाउनुभयो । बाली नगरपालिकामा मोटरसाइकल चलाइरहेका समाजसेवीका अर्को सवारी दिएको ठक्करले विनोद अर्यालको निधन भएकाले यस्ता घटना नहुने वातावरण बनाउन माग गर्नुभयो ।

सांसद टुकाभद्र हमालले निर्मल पूर्जाले नेपाली युवालाई प्रेरणा दिएकाले पर्वतारोहणका बेला निधन भएका पूर्जाका विषयमा उपयुक्त निर्णय गर्न माग गर्नुभयो । सांसद ठाकुरसिंह थारुले खेतमा मल छैन, भान्सामा ग्यास छैन, गर्मी छ फ्यान चलाउन बत्ती छैन भन्दै गुनासो गर्नुभयो ।

सांसद तारा विश्वकर्माले अव्यवस्थित प्लटिङ नरोके विपद् निम्त्याउन सक्ने भएकाले सचेत गराउन माग गर्नुभयो । सांसद डा तोसिमा कार्कीले कान्ति लोकपथको मार्ग परिवर्तन गर्दा स्थानीयवासी समस्यामा परेकाले निर्णय खारेज गर्न माग गर्नुभयो ।

सांसद तैफिक अहमद खानले रूपन्देहीको आफ्नो क्षेत्रमा शुद्ध खानेपानीको व्यवस्था गर्न माग गर्नुभयो । त्यस क्षेत्रका भूमिहीनको अन्योल समाधान गर्न पनि उहाँले माग गर्नुभयो । सांसद दीपककुमार साह सुनसरीले देवानगञ्ज घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो । सांसद देवराज पाठकले मौसमका बारेमा पूर्वानुमान गर्ने व्यवस्था गराउन माग गर्नुभयो ।

सांसद धनञ्जय रेग्मीले स्याङ्जाको सामुदायिक विद्युत् प्रणाली व्यवस्थित गर्न माग गरेकामा अझै काम नभएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद नरेन्द्रकुमार केरुङले पाँचथरमा मात्र पाँच हजार ग्यास सिलिण्डर आवश्यक छ तर नपाइने गरेको गुनासो गर्नुभयो ।