पर्सा साउन १९ गते । जिल्ला प्रहरी कार्यालय पर्साले बालबालिकाविरुद्धको कसुर सम्बन्धमा स्रोतबाट पुष्टि भएका तथ्य मात्र प्रकाशन/प्रसारण गर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले सञ्चारमाध्यमलाई ध्यानाकर्षण गराउँदै आधिकारिक स्रोतबाट पुष्टि भएका तथ्यमात्र सम्प्रेषण गर्न आग्रह गर्नुभएको हो।
प्रहरी नायब उपरीक्षक मल्लले अनुसन्धान सम्पन्न नभएसम्म अपुष्ट र भ्रामक सामग्री प्रसारण नगर्न ध्यानाकर्षण गराउनुभएको छ। यही साउन ९ गते वीरगञ्ज महानगरपालिका–१३ राधेमाई टोलस्थित एक बालिकालाई बालबालिकाविरुद्ध कसुर भएको भनी जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता भएको थियो ।
उक्त जाहेरी प्राप्त भएलगत्तै प्रहरी टोली परिचालित भई निखिलसिंह राजपुतलाई नियन्त्रणमा लिएको थियो । राजपुतलाई बालबालिकाविरुद्धको कसुरमा प्रचलित कानुनबमोजिम अनुसन्धान भइरहेको छ । अनुसन्धानका स्थापित सिद्धान्त तथा प्रमाणका आधारमा निष्पक्ष, स्वतन्त्र र गोपनीय रूपमा अनुसन्धान भइरहेको विषयमा अनुमान, अपुष्ट सूचना वा एकपक्षीय आधारमा प्रकाशित समाचारले अनुसन्धान प्रक्रियामा प्रतिकूल प्रभाव पार्नसक्ने प्रहरीको भनाइ छ ।
यस्ता क्रियाकलापबाट सम्बन्धित पक्षको अधिकारमा असर पर्न सक्ने तथा सर्वसाधारणमा भ्रम सिर्जना गर्नसक्ने उल्लेख गर्दै प्रवक्ता मल्लले ती कार्यप्रति गम्भीर चासो व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “प्रहरी निष्पक्ष, पारदर्शी र कानुनसम्मत अनुसन्धान गर्न प्रतिबद्ध छ । अनुसन्धान सम्पन्न भएपछि कानुनबमोजिम सार्वजनिक गर्न मिल्ने विवरण आधिकारिक रूपमा जानकारी गराइन्छ ।”




