काठमाडौँ, साउन ७ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले रैथाने (स्थानीय) उत्पादन संरक्षण र प्रवर्द्धनका लागि आवश्यक कानुन निर्माण गरिने बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)का नेपाल प्रतिनिधि केन सिमिजुले आज गर्नुभएको शिष्टाचार भेटमा मन्त्री यादवले त्यससम्बन्धी कानुन तर्जुमाको पहल भइरहेको बताउनुभयो ।
भेटमा एफएओका नेपाल प्रतिनिधि केनले एसियाली क्षेत्रका सबै मुलुकमा ‘जिओग्राफिकल इन्डिकेसन’ (जिआई) प्रणाली लागू भइसकेको जानकारी गराउनुभएको थियो । नेपाली रैथाने वस्तुको जिआई दर्ता नहुँदा त्यसको प्रत्यक्ष मार नेपालले खेप्नु परेको उल्लेख गर्दै उहाँले यसलाई रोक्न तत्काल प्रभावकारी कानुन बनाएर कार्यान्वयनमा लैजान जोड दिनुभएको उद्योगमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।




