काठमाडौँ, साउन ७ गते । राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सन्दीप राई र नेपाल भ्रमणमा रहनुभएका चीनको सिचुआन प्रान्तका संस्कृति र पर्यटन विभागका महानिर्देशक चेन गुआङहाओबीच आज काठमाडौँमा भेट भएको छ । अनौपचारिक भेटका क्रममा दुवै राष्ट्रको कलासंस्कृति र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहकार्य गरेर अघि बढ्ने विषयमा कुराकानी भएको छ ।
महाप्रबन्धक राईले राससको सेवाप्रवाह र सञ्चालन प्रक्रियाबारे जानकारी गराउँदै राससले मुलुकको सातवटै प्रदेश र विभिन्न जिल्ला कार्यालयमार्फत ७७ वटै जिल्लाका समाचार सम्प्रेषण गर्दै आइरहेको बताउनुभयो । उहाँले राससले नेपाल र छिमेकी राष्ट्रबीचको मैत्रीपूर्ण सम्बन्धलाई उच्च प्राथमिकता राख्दै आएको स्पष्ट गर्नुभयो ।
महाप्रबन्धक राईले चीनको सिन्ह्वा समाचार एजेन्सीसहित विश्वका अन्य समाचार एजेन्सीसँग समन्वय र सहकार्य हुँदै आएको बताउनुभयो । उहाँले नेपाल, कला, संस्कृति र पर्यटन क्षेत्रमा प्रचुर सम्भावना भएकाले सिचुआन प्रान्तका पर्यटकलाई नेपाल भ्रमण गराउनका लागि आवश्यक सहजीकरण गर्न आग्रह गर्नुभयो ।
महानिर्देशक गुआङहाओले सिचुआन प्रान्त र नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनमा मिडियाको भूमिका ठूलो हुने भएकाले साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो । उहाँले दुवै मुलुकको पर्यटन प्रवर्द्धनमा सहकार्य र समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।




