काठमाडौँ, साउन ७ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा प्राज्ञिक स्वायत्तता बढाउँदै दलीय भागबण्डा अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सवका अवसरमा आज कीर्तिपुरमा आयोजित कार्यक्रममा सहकुलपति पोखरेलले सुधार र रुपान्तरणको दृष्टिकोणसहित सबै विश्वविद्यालयमा उपकुलपतिहरु नियुक्त भएसँगै विश्वविद्यालयहरु गतिशिल भइरहेको बताउनुभयो । उहाँले त्रिविको पुरानो पहिचान कायम राख्दै नयाँ अध्यायको प्रारम्भ गर्ने, प्राज्ञिक स्वायत्ततालाई थप प्रोत्साहन गर्दै दलीय भागबण्डाको अन्त्य गर्ने र योग्यता प्रणाली कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

विश्वविद्यालयहरुमा सरकारबाट कुनै पनि प्रकारको हस्तक्षेप वा दबाब नहुने उल्लेख गर्दै मन्त्री पोखरेलले नवनियुक्त उपकुलपतिलगायत विश्वविद्यालयको सम्पूर्ण संयन्त्रलाई सुशासनको प्रत्याभूति हुनेगरी काम गर्न अनुरोध गर्नुभयो । उहाँले अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन र त्रिविका प्राध्यापकहरुलाई विश्वका विश्वविद्यालयहरूसँग ज्ञान आदानप्रदान गर्न सुझाउनुभयो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले उच्च शिक्षाको ऐतिहासिक निकाय तथा उच्च शिक्षाको राष्ट्रिय धरोहरका रुपमा परिचित त्रिभुवन विश्वविद्यालयलाई बदलिँदो परिस्थितिअनुरुप थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सुशासन कायम गर्न प्रणाली स्थापना गर्ने, विश्वस्तरमा सहकार्यमा जोड दिइ ज्ञान, अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित भई नैतिक तथा प्रतिस्पर्धी शैक्षिक संस्थाका रुपमा अघि बढाउने बताउनुभयो । कार्यक्रममा त्रिविको वार्षिक प्रकाशनसमेत विमोचन गरिएको थियो ।