काठमाडौँ, असार ३१ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नवनियुक्त उपकुलपति प्रा डा सुनिलकुमार जोशी र रजिष्ट्रार डा भीमबहादुर चन्दलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।

शिक्षा मन्त्रालयमा आज भएको विश्वविद्यालय सभाको बैठकले योग्यताक्रममा पहिलो नम्बरमा रहेका प्रा डा जोशीलाई उपकुलपतिमा तथा डा चन्दलाई रजिष्ट्रारमा नियुक्त गरेको थियो । सिफारिस समितिका संयोजक प्रा डा जयराज अवस्थीले सहकुलपति तथा सभाध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री पोखरेलमार्फत सिलबन्दीमा रहेको योग्यताक्रमसहितको प्रतिवेदन सभामा पेश गर्नुभएको थियो । त्यसपछि मन्त्री पोखरेलले सिफारिस भएका नाम सार्वजनिक गर्दै नियुक्तिको जानकारी दिनुभयो ।

मन्त्री पोखरेलले स्वास्थ्य क्षेत्रका १० विज्ञको सिफारिस प्रक्रिया १० स्वास्थ्य क्षेत्रकै विज्ञबाट गरिएको मूल्याङ्कनका आधारमा स्वच्छ, निष्पक्ष र पारदर्शी ढङ्गले सम्पन्न भएको बताउनुभयो । उहाँले उक्त मूल्याङ्कनका आधारमा सिफारिस समितिले योग्यताक्रम निर्धारण गरी नाम सिफारिस गरेको उल्लेख गर्दै नवनियुक्त पदाधिकारीको नेतृत्वमा विश्वविद्यालयमा यही वर्षदेखि पठनपाठनसहितका शैक्षिक तथा प्रशासनिक कार्य प्रारम्भ हुने विश्वास व्यक्त गर्नुभयो ।

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनको दफा २५ अनुसार सिफारिस समितिले योग्यताक्रमसहित तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये योग्यताक्रममा पहिलो स्थानमा रहेका उम्मेदवारलाई नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ । बैठकमा सहकुलपतिद्वय शिक्षामन्त्री पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता उपस्थिति हुनुहुन्थ्यो ।