काठमाडौँ, जेठ १७ गते । गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनपछि आज पहिलो पटक प्रतिनिधिसभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा सहभागी हुनुभएका प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति विवादमा तानिएको छ । आज आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले नेपाल–भारत सीमा र चीनको विकासको अवस्थाबारे दिनुभएको अभिव्यक्ति चौतर्फी रुपमा विवादमा तानिएको हो।
लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवादबारे नेकपा एमालेका सांसद पद्मा अर्यालले सोध्नुभएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको बताउनुभएको थियो । प्रधानमन्त्रीको सो भनाइ सार्वजनिक भएसँगै संसद्मै प्रतिनिधिसभा सदस्य वासना थापाले आपत्ति प्रकट गर्दै प्रधानमन्त्रीले कुनै तथ्य र प्रमाण बिना यस्तो गम्भीर कुरा बोलेको भन्दै यो अभिव्यक्तिले राष्ट्रिय अखण्डतामा आँच पु¥याउने र छिमेकीसँगको सम्बन्ध बिगार्ने तर्क गर्नुभयो ।
यस्तै, एमालेका भूमिका लिम्बु, नेकपाका युवराज दुलालले पनि प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाउनुभयो ।





