काठमाडौँ, वैशाख २९ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनुहुँदा प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठक छाडेर बाहिरिनुभएको विषयमा जवाफ मागेको छ । आज मङ्गलबारको प्रतिनिधिसभा बैठकमा काङ्ग्रेस प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीको जवाफ माग्नुभएको हो ।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै काङ्ग्रेस सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक बासना थापालाई बोल्न समय उपलब्ध गराउनुभएको थियो ।

सांसद थापाले राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू संसद्बाट बाहिरिनु यो केवल सामान्य दृश्य नभएको भन्दै लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा विरलै देखिने दृश्य, जुन हिजो देखियो भन्नुभयो । उहाँले आफ्नै सरकारको नीति तथा कार्यक्रम वाचन भइरहँदा प्रधानमन्त्री सदनबाट बाहिरिनु केवल सामान्य घटना मात्र नभई संवैधानिक संस्कार, संसदीय परम्परा र राज्यको उत्तरदायित्व विपरित भएको उल्लेख गर्नुभयो ।
पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास हुने भन्दै उनले यस विषयमा प्रधानमन्त्रीले सदनमा आएर स्पष्ट जवाफ दिनुपर्ने माग गरिन्।
लोकतन्त्रमा पदभन्दा ठूलो कुरा मर्यादा र मर्यादाभन्दा ठूलो कुरा जनविश्वास हो भन्ने कुरामा ध्यान जओस्, यस्ता घटनाको पुनरावृत्ति नहोस् भन्दै सांसद थापाले प्रतिपक्षी दलको तर्फबाट प्रधानमन्त्रीज्यूको जवाफको माग गर्नुभयो ।