काठमाडौँ, वैशाख २७ गते । नेपाली शिक्षा परिषद्ले नौ दशक पार गर्नुभएका नेपाली वाङ्मयसेवीहरूको अभिनन्दन गरेको छ । परिषद्को अमृत महोत्सव वर्ष ८३ का अवसरमा नेपाली भाषा, साहित्य तथा शिक्षाका क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका वरिष्ठ स्रष्टाहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रममा परिषद्का अध्यक्ष रमा शर्माले नेपाली साहित्य र वाङ्मयको विकासमा अग्रज स्रष्टाहरूले पुर्याउनुभएको योगदान अविस्मरणीय रहेको बताउनुभयो । उहाँले परिषद्द्वारा यस्ता व्यक्तित्वलाई सम्मान गरिनु गौरवको विषय भएको उल्लेख गर्दै आगामी दिनमा अभिनन्दन परम्परालाई निरन्तरता दिने जानकारी दिनुभयो ।
अभिनन्दित हुने व्यक्तित्वमा दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लाल दास, भद्राकुमारी घले, मीर्गेन्द्रराज पाण्डे, डा महेश्वर शर्मा, चेतोनाथ शर्मा आचार्य, शङ्करराज पाठक, द्वारिका श्रेष्ठ, तेजेश्वरबाबु ग्वंगः तथा हरिराम जोशी रहनुभएको छ ।
कार्यक्रममा साहित्यकार, शिक्षाविद्, समाजसेवी तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउनुभएका विशिष्ट व्यक्तित्वको उपस्थिति थियो । सहभागीहरूले वरिष्ठ वाङ्मयसेवीको योगदान नेपाली भाषा, साहित्य र संस्कृतिका लागि प्रेरणादायी रहेको धारणा व्यक्त गर्नुभयो ।





