फाइल तस्वीर
काठमाडौँ, वैशाख २७ गते । नेपाल भलिबल सङ्घ (एनभीए) आगामी जेठ ८ गतेदेखि काभा महिला भलिबल च्याम्पियनसिप लिग सञ्चालन गर्ने भएको छ । उक्त कुराको जानकारी आज आइतबार नेपाल भलिबल सङ्घ (एनभीए)ले पत्रकार सम्मलेन आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।

सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफी सार्वजनिक गर्दै प्रतियोगिता आगामी जेठ ८ देखि १५ गतेसम्म काठमाडौंको त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सञ्चालन हुने बताइएको छ ।

उक्त प्रतियोगितामा आयोजक राष्ट्र् नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश, माल्दिभ्स, काजकास्तान, कीर्गिस्तान र इरान गरी आठ राष्ट्रको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

यस प्रतियोगितामा अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआईभीबी)ले सहभागी राष्ट्रहरूको वरीयतासमेत निर्धारण गर्ने बताइएको छ ।

प्रतियोगिताको अनुमानित बजेट दुई करोड ५० लाख रुपैयाँ रहेको आयोजकले जानकारी दिएका छन् । यस प्रतियोगिता सञ्चालनका लागि नेपाल भलिबल सङ्घलाई राष्ट्र्यि खेलकुद परिषदले एक करोड रुपैयाँ र काठमाडौं महानगरपालिकाबाट ३० लाख रुपैयाँ उपलब्ध गराएको छ ।