काठमाडौँ, वैशाख २७ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले देशमा कम्युनिस्ट आन्दोलनको एकताको आवश्यकता बढेको र साम्राज्यवादी हस्तक्षेपले देश अप्ठेरो अवस्थामा पुगेको बताउनुभएको छ । नेकपाका संयोजक प्रचण्डले २६ औँ निर्मल लामा स्मृति सभामा आयोजित सभालाई सम्बोधन गर्दै फेरि श्रमजीवि वर्ग र कम्युनिस्ट एकतामा केन्द्रित गरेर नयाँ यात्रामा लाग्नुपर्ने भन्दै कम्युनिस्टहरूको प्रभाव जनतामा अझै उल्लेख्य रहेको बताउनुभयो ।
संयोजक प्रचण्डले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय रूपमा पनि कम्युनिस्ट आन्दोलन, ठुलठुला बहस, विवाद, विभाजन र एकताको शृङ्खला चल्दै आएको छ । सच्चा कम्युनिस्टहरूको बिचमा एकता अहिले झन् विशेष रूपमा बढेको छ ।’
देशमा साम्राज्यवादीहरूको हस्तक्षेप बढ्दै गएको र राष्ट्रिय रूपमा देश अप्ठ्यारो अवस्थामा पुगेको बताउँदै कम्युनिस्टहरूलाई सखाप पार्न देशी विदेशी लागिपरेको दाबी समेत गर्नुभयो । एकता र विभाजनका धेरै शृङ्खला हुँदै आफूहरु आजको दिनसम्म आएको स्मरण गर्दै उहाँले अहिले एकताको आवश्यकता झनै विशेष रुपले अघि बढेको उल्लेख गर्नुभयो । अहिले देशमा साम्राज्यवादीहरूको हस्तक्षेप बढे र देश अप्ठेरो अवस्थामा आइपुगेको संयोजक प्रचण्डको भनाइ छ ।
संयोजक प्रचण्डले भन्नुभयो, ‘हामीले आफैंलाई पहिला राम्रो समीक्षा गरेर कहाँ कमजोरी भयो भन्ने कुरा सच्याउने प्रयास गर्नु र नयाँ ढङ्गले आन्दोलन अघि बढाउन जरुरी छ, हामीले हिजो जसरी जनयुद्ध, जनआन्दोलन र अभियानका क्रमबाट जहाँ आइपुगेका थियौं अहिले फेरि परिस्थितिले एकताको आधार खोजी गर्न बाध्य पारेको छ ।’





