महोत्तरी, वैशाख २२ गते । महोत्तरीको बलवा नगरपालिकाको दुई वडामा दादुरा रोगको सङ्क्रमित फेला परेका छन् । बलवा – ९ ध्रुवकुण्ड र बलवा –८ संरचियामा सङ्क्रमण फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका खोप फोकल पर्सन रामबाबु यादवले धु्रवकुण्ड र संरचिया गाउँमा गत साता दादुरा सङ्क्रमित फेला जानकारी दिनुभयो ।

दुवै बस्तीका बालबालिका ज्वरो आएर धमौरामा अवस्थित स्वास्थ्यचौकीमा जाँचकाक्रममा सो रोग पुष्टि भएको हो । स्वास्थ्यचौकीका इञ्चार्ज सिअहेव सञ्जयकुमार साहले ती बालबालिकाहरुमा लक्षण देखेपछि तत्कालै स्वास्थ्य कार्यालयमा जानकारी गराएका थिए । बालबालिकाहरुको सेरम ९दादुरा जाँचको लागि आवश्यक पर्ने रगत० परीक्षणको लागि जनकपुरस्थित प्रयोगशालामा पठाइएको थियो ।

सेरम चाँजपछि ती सबै बालबालिकामा पोजेटिभ चिह्नअर्थात् दादुरा रहेको पुष्टि भएको फोकल पर्सन यादवले बताउनुभयो । दादुरा भएको पुष्टि भएसँगै यही वैशाख १५ गते बलवा नगरपालिकाको सङ्क्रमित बस्तीमा विश्व स्वास्थ्य सङ्गठन धनुषा शाखा, मधेस प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय महोत्तरी, युनिसेफ र बलवा नगरपालिकाको स्वास्थ्य टोलीले संयुक्त रुपमा पुगेर घरघरमा चाँज गरेको छ । यसमा थप बालबालिकामा दादुरा फेला नपरेको फोकल पर्सन यादवले बताउनुभयो ।

सङ्क्रमित बालबालिकाहरुमा दादुरा नियन्त्रणका लक्षणमा आधारित उपचार गरिएको छ । बलवा नगरपालिकाले नगरक्षेत्रका कुनै पनि खोप छुटेका बालबालिकाहरुका लागि यही वैशाख २८, २९ र ३० गते खोप सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।